
बैंकिङ खबर।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएलर २९ बैंक वित्तिय संस्थाहरुबीच आज एक औपचारिक कार्यक्रममा सम्झौता भएको छ। एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन्।
साथै नेपाल राष्ट्र बैंकका बरिष्ठ डेप्युटी गभर्नर डाक्टर नीलम ढुङ्गाना तिम्सिना, डेप्युटी गभर्नर बमबहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीहरु, विभिन्न बैंक वित्तिय संस्था एवम् भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाका प्रमुख कार्यकारी एवम उच्च पदाधिकारीसमेतको उपस्थिती रहेको थियो।
नेपाल सरकारको बजेट तथा मौद्रिक नितीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाका लागि नेपाल क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्विकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति ०७८ कात्तिक महिनामा प्राप्त भएको हो। यसैक्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैंकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैंक वित्तिय संस्थाहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने कार्य योजना रहेको छ। कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने छ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीचअन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुनेछन्।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तिय संस्था तथा गैरबैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्। त्यसैगरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ।