
बैंकिङ खबर । प्युठान जिल्लाको विजुवारमा रहेको कृषि विकास वैंकको विजुवार शाखाको औपचारिकरुपमा समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिबाट संयुक्त रुपमा समुद्घाटन भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले नुनदेखि सुनसम्मको कारोबार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापित पुरानो सरकारी बैंक कृषि विकास र्वैंकले प्रतिस्पर्धी बैंकहरुको भिडमा जनताको भावना र चाहना बमोजिम आफुलाई परिवर्तित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कृषि विकास बैैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउनु भएको थियो ।
स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको उक्त उदघाटन कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मी, प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लक्ष्मी प्रकाश भण्डारी, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गजबहादुर थापा, निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष पशुपतिनारायण नकर्मी, कृषि विकास बैक शाखा खलंगा र शाखा भृगिका कर्मचारीहरुको सहभागितासमेत रहेको थियो । कार्यक्रम संचालन प्युठान शाखा (खलंगा) का प्रवन्धक नरेश सुवेदीले गर्नुभएको थियो ।