
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्न खोज्दा अनावश्यक आतंक सिर्जना भएको बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित अर्थविद्हरुसँगको छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको विषय नउठाएको बताउनुभयो ।
छलफलमा उहाँले भन्नुभयो,‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्रमात्र देखाउन खोजेको हुँ । यसैलाई लिएर बजारमा आतंक सिर्जना भएको देखियो । आतङ्कित नहुन अनुरोध गर्छु ।’
पूँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको पनि उहाँको भनाइ छ । मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरीद ऐनका परम्परागत प्रावधानहरु बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताउनुभयो ।
जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।’
छलफल कार्यक्रममा अर्थविद्हरुले दिएका सुझावहरु मध्येबाट केही न केही परिणाममुखी काम गरिने पनि उहाँले बताउनुभयो ।
पारदर्शिताको मामिलामा कसैसँग सम्झौता नगर्ने अठोट व्यक्त गर्दै उहाँले जिम्मेवारीमा रहँदासम्म दृढ इच्छाशक्तिका साथ काम गर्ने बताउनुभयो ।
अर्थतन्त्र
अर्थतन्त्रको यथार्थपत्र सार्वजनिक गर्छु भन्दा आतंक सृजना भयोः अर्थमन्त्री
२०७८ श्रावण १२ गते
