Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सरकारले विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने

२०७८ श्रावण ११ गते


बैंकिङ खबर/सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।
सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सरकारले कोभिड–१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि वा आदेशको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्यादसम्बन्धी आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने, पदाधिकारीले म्याद थपको आवश्यकता र औचित्य विश्लेषण गर्ने गरी नेपाल सरकारलाई थप लागत नपर्ने र म्याद थप गरेबापत अन्य कुनै दायित्व नपर्ने गरी त्यस्तो सम्झौताको ६ महिना समय थप गर्ने निर्णय गरेको छ ।

यसैगरी ‘डिपोर्टेसन सेन्टर’ मार्फत फिर्ता भएका, जेल मुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले बेहोर्ने तथा यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र यसका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।