बैंकिङ खबर । जेठ २१ गतेदेखि लागु हुनेगरी पुन ११ दिन थप गरिएको निषेधाज्ञामा बैंक वित्तलाई भने थप शाखा खोल्नबाट रोक लगाइएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यो अबधिमा काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
बैठकले विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटीलाई सामान्य परिवर्तन गरेपनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा भने कुनै परिवर्तन गरेको छैन । बैंकवित्त खोल्ने कार्य वा सेवालाई हालकै व्यवस्थालाई निरन्तरता दिएको हो । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंक र फाइनान्स कम्पनीको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति २० प्रतिशत मात्र प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइनेछ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
