बैंकिङ खबर / शुक्रबार ट्राफिक प्रहरीले पनि फाइनान्स र सहकारी छुट्याउन सकेनन् । प्रहरीले रोकेपछि फाइनान्स कम्पनीहरुमा खैला बैला भएको छ । फाइनान्स कम्पनीहरु ग बर्गका वित्तीय संस्था हुन् । कतिपयलाई फाइनान्स भनेको सहकारी भन्ने बुझाई छ । यो गलत बुझाई हो । प्रहरीलाई समेत फाइनान्स र सहकारीको फरक थाहा छैन । यसै कारण शुक्रबार धेरै फाइनान्स कम्पनीका कर्मचारीलाई बाटोमै रोकियो ।
कोरोना भाइरस नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका क्रममा शुक्रबार प्रहरीले फाइनान्स कम्पनीका कर्मचारीलाई रोकेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबारको बैंठकले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म सवारी चलाउने दिने निर्णय गरेको थियो । तर शुक्रबार भने फाइनान्सका कर्मचारीहरुलाई प्रहरीले रोकेर होल्ड गरेर राखेको उहाँहरुको गुनासो छ ।
फाइनान्सका एक कर्मचारीले भन्नुभयो, ‘बैंक क्षेत्रका कर्मचारीलाई छोडेपछि फाइनान्सका कर्मचारीलाई भने ट्राफिक प्रहरीले रोकेर होल्ड गरेको छ । फाइनान्स कम्पनीका कर्मचारीहरुलाई होल्ड गर्ने नै निर्देशन रहेछ । फाइनान्स भनेको कोअपरेटिभ हो भन्ने उनीहरुको बुझाई रहेछ ।’ ट्राफिकले कार्डमा वित्त कम्पनी भनेर नखुलाएको भन्दै रोक्ने गरेको उनीहरुको गुनासो छ ।
मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, नियामक निकाय लगायत धेरै पक्षहरु एकअर्कासँग फरक छन् ।
सहकारी के हो ?
सह–कार्य अर्थात सहकारीताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ’एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हर्टाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै(थोरै बचत संकलन बाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो र्टार्न सहकारी राम्रो माध्यम बनेको छ ।
सहकारीभन्दा फरक छ फाइनान्स कम्पनी
फाइनान्स कम्पनीहरु सहकारी संस्थाहरुभन्दा बिल्कुलै फरक वित्तीय संस्थाहरु हुन् । राष्ट्र बैंकको अनुमति प्राप्त ग वर्गका वित्तीय संस्थाहरु फाइनान्स कम्पनी हुन् । ग वर्गका बैंकहरुलाई राष्ट्र बैंकले काम, कर्तव्य र अधिकारहरु दिएको छ ।