
होमनाथ उपाध्याय
अध्यक्ष, वागमती प्रदेश हस्तकला संघ
तथा
पूर्वउपाध्यक्ष, हस्तकला महासंघ
हस्तकला व्यवसाय मूलतः निर्यातमूलक व्यवसाय हो । यसमा कुल उत्पादनको करिब ७० प्रतिशत निर्यात हुने गरेको छ । करिब ३० प्रतिशत मात्र स्वदेशमा खपत हुन्छ । यो क्षेत्रमा साविकको अवस्थामा वार्षिक करिब ३०–३५ अर्बको कारोबार हुँदै आएको हो । हस्तकलाको क्षेत्रमा देशभर १० लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा संलग्न छन् । नेपाल हस्तकला महासंघमा व्यक्तिगत, वाणिज्य, उद्योग र एसोसिएट गरी चार किसिमका सदस्य गरी करिब १५ सय सदस्य आबद्ध छन् । यसमा कालिगडदेखि उद्योगसम्म पर्दछन् ।
हस्तकलाका ४२ वटा विधा छन्, जसअन्तर्गत विभिन्न वस्तुहरू पर्दछन् । घर–घरमा सानो परिमाणमा उत्पादन गरिने वस्तुहरूसमेत यसअन्तर्गत समेटिने हुनाले यसको दायरा निकै फराकिलो छ । यस हिसाबले लाखौँ व्यक्तिहरू यस क्षेत्रमा अप्रत्यक्ष रूपमा रोजगारीमा छन् । लकडाउन र निषेधाज्ञाका कारण ती सबैको व्यवसायदेखि रोजीरोटीसम्म प्रभावित भएको अवस्था छ ।

अहिले हाम्रो व्यवसाय प्रायः शून्यमै छ । निषेधाज्ञाका कारण उत्पादन छैन । एयरलाइन्सहरू बन्द भएका कारण निर्यात पनि ठप्प भएको अवस्था छ । धमाधम अर्डरहरू क्यान्सिल भइरहेका छन्, यद्यपि समस्या अर्डरको नभएर उत्पादनको छ । महामारीकै समयमा पनि आवश्यक मात्रामा अर्डर भएर पनि उत्पादन गर्न समस्या भइरहेको छ । कतिपयले अर्डर भएर डेलिभरी गर्न तयार भएको सामान पनि डेलिभरी गर्न नसक्ने अवस्थाका कारण त्यत्तिकै थन्किएको अवस्था छ ।
कोभिडको समयमा पनि अर्डर प्रशस्त आइरहेको व्यवसायीहरूले जानकारी दिनुभएको छ । कोभिडको गत वर्षको पहिलो लहरमा अर्डर भएर पनि उत्पादन गर्न नसकिएकाले डेलिभरी दिन सकिएको थिएन । बन्दाबन्दीका कारण माग हुँदाहुँदै पनि उत्पादन गर्न सकिएन । कच्चापदार्थ, कामदारलगायत स्रोत–साधनको कमी भयो । उत्पादन नै नभएपछि अर्डर हुँदा पनि मागबमोजिम आपूर्ति गर्न सकिएन ।
कोभिड केही सुस्ताएपछि बीचमा उत्पादन सुरु भएर निर्यात भइरहेको अवस्था थियो । तर, तंग्रिन खोज्दाखोज्दै फेरि संक्रमणको दोस्रो लहरले व्यवसाय नराम्ररी प्रभावित भएको छ । एयरलाइन्स बन्द हुँदा कार्गोमार्फत फाट्टफुट्ट हुने कारोबारबाहेक सबै व्यवसायी त्रस्त भइरहेको अवस्था छ । अहिले पनि उनीजन्य वस्तुहरूको माग उच्च छ, तर उत्पादन र ढुवानीमा कठिनाइका कारण आपूर्ति गर्न सकिएको छैन । निषेधाज्ञा उत्पादन गर्न चाहने उद्योगले कारखानाभित्रै कामदारलाई बस्ने–खाने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ, तर त्यसका निम्ति आवश्यक पूर्वाधार सबै व्यवसायीसित छैन । अहिलेको मापदण्डले नजिकैबाट हिँडेर आउने कामदारलाई पनि काममा लगाउन नमिल्ने बनाएको छ ।
महामारीको मारमा परेका व्यवसायीले भाडा, बैंक ब्याजलगायतमा सहुलियत पाउने अवस्था पनि छैन । यसका निम्ति सरकारले कुनै पनि ठोस नीति ल्याएको छैन । हामीले संस्थागत रूपमा छुट दिनका लागि आग्रहसम्म गर्न सक्छौँ, त्यो खासै प्रभावकारी नहुने अनुभव हाम्रो छ । विगतको लकडाउनमा केही घरपेटीहरूले एक महिनाको भाडा छुट दिनुभएको थियो, तर अधिकांशले दिनुभएन । उहाँहरूको पनि आफ्नै बाध्यता हुन सक्छ, कतिपयको घरभाडा नै व्यवसाय हुन्छ । अधिकांशले बस्ने भए पूरै समयको भाडा दिएर बस, नत्र छोडेर जाऊ भएको अवस्था हो । यसमा हामीले संस्थागत रूपमा दबाब दिन सक्ने अवस्था रहँदैन ।
बैंक ब्याजको हकमा पनि हामीले राष्ट्र बैंक र बैंकर्सहरूलाई किस्ता बुझाउने अवधि थपिदेऊ भनेर आग्रह गर्ने हो । यसमा संस्थागत प्रक्रिया हुने भएकाले बरु हाम्रो अनुरोधले काम गर्न सक्छ, तर निजी घर भाडाको सवालमा हाम्रो अनुरोधले काम गर्दैन । उत्पादन र ढुवानीको वातावरण बन्यो भने यी सबको आवश्यकता पनि पर्दैन । तर, यही अवस्था लामो समय जाने हो भने व्यवसायलाई लयमा फर्काउन निकै कठिन हुने देखिन्छ ।




