बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले गोलभेँडा उत्पादक कृषकलाई कर्जामा सहुलियत दिने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंक र कर्मा समूहबीच समझदारी भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउनेछ । दोस्रो चरणमा देशका अन्य जिल्लाका कृषकलाई पनि सहुलियत कर्जा उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ । इच्छुक कृषकले तोकिएको कागजात पेस गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउनेछ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने विश्वास लिइएको बैंकले जनाएको छ । यसले रोजगारी सिर्जना हुने तथा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बैंकको विश्वास छ ।