Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवनका व्यावसायिक किसानलाई एनसिसी बैंकको ५ करोडसम्म सहुलियत कर्जा सम्झौता

२०७७ चैत्र २ गते

बैंकिङ खबर/  चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । नेपाल क्रेडिट एन्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच कर्जा सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाहका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्याल र दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानको व्यवसाय प्रवर्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आबद्ध दुग्ध उत्पादक किसान र संस्थालाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौताबाट चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका विभिन्न सहकारी संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध ४० हजारभन्दा बढी किसान लाभान्वित हुन सक्ने अपेक्षा बैंकको छ । यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क नलाग्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार यस्तो कर्जा एनसिसी बैंकका कुनै पनि शाखाबाट प्राप्त गर्न सकिनेछ । कर्जाका लागि संघले सहजीकरण गरिदिनेसमेत सम्झौतामा उल्लेख छ ।

कसले कति पाउँछन् कर्जा ?
– पशुपालक व्यक्ति/किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रूपैयाँसम्म ।
– कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फर्म वा साझेदारी व्यवसायले प्रतिफर्म/व्यवसाय अधिकतम १ करोड रूपैयाँसम्म ।
– कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने कम्पनीले प्रतिकम्पनी अधिकतम ५ करोड रूपैयाँसम्म ।

Ad