Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गागलफेदी यातायातमा मेगा बैंकको क्युआर भुक्तानी सुविधा

२०७७ चैत्र १ गते

बैंकिङ खबर/  मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुवाहक बसमा क्युआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंकले गागलफेदी यातायात प्रालिलाई विशेष समारोहबीच क्युआर कोड प्रदान गरेसँगै भाडाको विद्युतीय भुक्तानीको शुभारम्भ भएको हो ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने बताए । बैंकले यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घरलगायत क्षेत्रमा सहुलियतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्युआर प्रणालीबाट भाडाको कारोबार गर्दा समयको बचत हुने, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।

कार्यक्रममा गागलफेदी यातायातका अध्यक्ष मधुसूदन केसी (खड्का)ले क्युआर कोड उपलब्ध गराएकोमा बैंकलाई विशेष धन्यवाद दिए । उनले विद्युतीय भुक्तानी सुविधाको प्रयोगले यातायात सञ्चालक तथा यात्रु दुवैलाई सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गागलफेदी यातायात प्रालिका सञ्चालकहरु बद्रीबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य शेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, सातघट्टेबाट ब्रह्मखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।

नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप मेगा बैंकले देशभरका विभिन्न सेवामूलक क्षेत्रमा क्युआर कोडमार्फत भुक्तानी सुविधाको प्राथमिकताका साथ विस्तार गर्दै आएको छ ।

Ad