बैंकिङ खबर/ कोभिड–१९ महामारीविरूद्ध लड्न स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न संघसंस्थाको सहकार्यमा संयुक्त प्रयास सुरु भएको छ । विभिन्न क्षेत्र र प्रकृतिका पाँच संस्थाको संयुक्त पहलमा वित्तीय क्षेत्रको नबिल बैंकले साथ दिएको छ । स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एमओएचपी) स“ग समन्वय गरी नबिल बैंक, एसियाली प्रकोप तत्परता केन्द्र (एडिपिसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी) र चौधरी फाउन्डेसनले स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमताअभिवृद्धिको संयुक्त प्रयास थालेका हुन् । महामारीविरुद्धको तत्परतामा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि यो नै पहिलो संयुक्त पहल भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हालसम्म कर्णालीबाहेकका ६ प्रदेशमा महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । सार्वजनिक र निजी दुवै स्वास्थ्य सेवा र मानवीय संगठनका २ सय ८० भन्दा बढी अग्रपंक्तिका स्वास्थ्यकर्मीले सक्रिय रूपमा एकदिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएको बताइएको छ । कर्णाली प्रदेशमा आगामी साता कार्यक्रम हुने बैंकले जनाएको छ ।
कोभिड १९ र अन्य स्वास्थ्य आपत्काल, प्रकोप तथा अन्य सम्भावित महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य कार्यक्रमकोे छ । यस सन्दर्भमा राष्ट्रिय साझेदारी कार्यशालाले मूलतः प्रदेशका मुद्दा, चुनौतीको पहिचान गरी अनुभव साझ गर्ने प्रयास गरेको छ । महामारीविरुद्धको तत्परताअन्तर्गत आवश्यक संसाधन जुटाउने अवसरको पहिचान गरी ठोस अनुगमन कार्यलाई गति दिइने बैंकले जनाएको छ । यसअन्तर्गत अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिकासहित ज्ञान आदान–प्रदानमा मूल्यवान् जानकारीको खोजी गर्न मद्दत पुर्याउने लक्ष्य कार्यक्रमको छ ।
स्वास्थ्य आपत्कालीनप्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो नै पहिलो सार्वजनिक–निजी साझेदारीको पहल भएको बैंकले जनाएको छ । कार्यक्रममा संघीय, प्रादेशिय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वका रूपमा निजी क्षेत्रबाट पुर्याएको योगदानको बैंकले प्रशंसा गरेको छ ।


