एनआइसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा उपलब्ध गराएको छ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सेवा प्रदान गरिएको बैंकले जनाएको छ । विद्युतीय भुक्तानी सेवा विस्तारका सन्दर्भमा बैंकका तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिस्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।
बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै ‘फोन पे’को क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको हो । यसमार्फत कम्प्युटरको स्क्रिनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताले खरिद रकम भुक्तानी गर्न सक्नेछन् । फोन पेमा आबद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमकमा रहेका चारवटा शाखाबाट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्ने जानकारी बैंकले दिएको छ ।
पछिल्लो समय स्मार्टफोन प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएसँगै क्युआर प्रविधिमार्फत भुक्तानी गर्नेको संख्यासमेत तीव्र रूपमा वृद्धि भइरहेको छ । ‘क्यासलेस इकोनोमी’लाई प्रोत्साहन गर्न नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियान चलाएसँगै बैंक तथा वित्तीय संस्थाहरू विद्युतीय भुक्तानी सेवाविस्तारमा आक्रामक ढंगले लागिपरेका छन् । यसबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको अभियानलाई सहयोग गर्न एनआइसी एशिया बैंकले विद्युतीय भुक्तानी सेवालाई प्राथमिकतामा राखेको छ । बैंकले नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावलाई आकर्षित गरी मुलुकमा क्यासलेस इकोनोमीको विकास गर्न सहयोग पुर्याउने योजना कार्यान्वयनमा ल्याएको हो ।
बैंकले डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आएको दाबी गरेको छ । बैंकले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । बैंकले हालसम्म देशभर ४१ हजारभन्दा बढी क्युआर मर्चेन्ट खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ हजार ३ सयवटा भन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा विद्युतीय भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको जनाएको छ ।
एनआइसी एशिया शाखासञ्जालका हिसाबले मुलुकको सबैभन्दा ठूलो बैंक हो । बैंकले मुलुकभर कुल ३ सय ५२ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ७५ विस्तारित काउन्टर तथा ७८ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मुलुकभर २२ लाख भन्दा बढी ग्राहक रहेको बैंकको तथ्यांकले देखाएको छ । वित्तीय परिसूचकहरू उत्साहप्रद रहेको यस बैंकले लगातार मुनाफा वृद्धि गर्दै आएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा सरकारलाई करिब रु.२ अर्ब ६५ करोड राजस्व बुझाएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर पाण्डेले उत्तरदायी बंैकिङको अभ्यासले नै निरन्तरको प्रगति सम्भव भएको बताए । उनका अनुसार बैंकले व्यावसायिक ढंगले मात्र नहेरी वित्तीय समावेशीकरण, सामाजिक उत्तरदायित्व वहन र सेवाभावलाई समेत प्राथमिकता दिँदै आएको छ । ‘वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी हामीले सेवा दिँदै आएका छौँ,’ उनले भने ।