
बैंकिङ खबर/ राजधानी काठमाडौंसँगै देशका विभिन्न भागमा टेम्पोमा यात्रा गर्ने यात्रुले अब विद्युतीय भुक्तानी गर्न सक्ने भएका छन् । मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्युआर कोडमार्फत भाडा भुक्तानीको सुविधा उपलब्ध गराएको हो ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालित टेम्पोमा क्युआर कोडमार्फत रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोका यात्रुलाई विद्युतीय भुक्तानीको व्यवस्था मिलाइएको बैंकको भनाइ छ । काठमाडौं उपत्यकाका टेम्पो चालकलाई क्युआर कोड उपलब्ध गराई शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गर्ने बैंक योजना छ ।
पछिल्लो समय टेम्पो चालक पेसामा महिलाको उल्लेख्य सहभागिता छ । आर्थिक उपार्जनमा महिलालाई थप सहयोग मिलोस् भन्ने उद्देश्यले टेम्पो व्यवसायका लागि सहुलियतपूर्ण ऋणसमेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । विद्युतीय भुक्तानी सुविधाले टेम्पो चालक र यात्रु दुवैलाई थप सहज हुने विश्वास बैंकले लिएको छ ।
मेगाका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
मेगा बैंकका ग्राहकले सिद्धार्थ गु्रप अफ बिजनेस हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र सिद्धार्थ गु्रपबीच सम्झौता भएसँगै बैंकका ग्राहकले सिद्धार्थ ग्रुपद्वारा सञ्चालित देशभरका होटेल तथा रेस्टुरेन्टमा सेवा दिँदा छुट पाउने भएका हुन् । अत्याधुनिक बैंकिङ सुविधासँगै अतिरिक्त सेवामा समेत ग्राहकलाई सुविधा मिलोस् भन्ने उद्देश्यले छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार मेगा बैंकका ग्राहकले खाना तथा अन्य परिकारमा १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ ।
सिद्धार्थ ग्रुपअन्तर्गत देशका विभिन्न स्थानमा २१ वटा होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको सिद्धार्थ ग्रुपले जनाएको छ ।