Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिजिटल बैंकिङ कारोबारमा सफलता : तरकारी पसलदेखि चिया पसल हुँदै ई-रिक्सासम्म

२०७७ फाल्गुन ७ गते

बैंकिङ खबर । डिजिटल बैंकिङको अवधारणा वर्षौदेखि आएको भएतापनि यसले सार्थकता पाउन भने सकेको थिएन । यद्यपी कोरोना माहामारीको बिचमा भने यसको प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइयो । गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गरिरहेका छन् । कोरोना महामारीको उच्च चापको अवधिभर विद्युतीय कारोबार गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । हाल सामान्य शुल्क बाहेक यो सेवा महंगो छैन । एटीएम प्रयोगमा समेत जुनसुकै बेंकको एटीएम जुनसुकै बैंकमा प्रयोग गर्दा लाग्ने शुल्क ५० रुपैयाँबाट घटाएर २० रुपैयाँमा झारीएको छ । विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई केन्द्रीय बैंकले उच्च प्राथमिकतामा राखेको छ र यसको कार्यान्वयनका निम्ति कानूनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई समेत मजबुत बनाइएको छ । डिजिटल कारोबारबाटै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने गभर्नर अधिकारीको विश्वास छ ।

त्यसैले ससाना व्यवसायदेखि तरकारी पसल हुँदै विभिन्न किरानापसलसम्म डिजिटल कारोबार बढाउन उनले लगातार पहल गरीरहेका छन् । शहरी क्षेत्रमा मात्र सिमित डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी किसानलाई समेत ‘ई–कमर्स’सँग जोड्न उनी प्रतिवद्ध छन् । डिजिटल प्रविधिको प्रयोगबाटै किसानलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना र जानकारी दिन ससाना व्यवसायदेखि तरकारी पसलसम्म गभर्नर आफै खटिएका छन् ।

उनले प्रविधिको प्रयोगतर्फ सर्वसाधारणको विश्वास बढाउनमा केन्द्रीत हुँदै सम्पूर्ण क्षेत्रमा डिजिटल कारोबार गर्न प्रोत्साहन दिएका छन् । विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेर यसको कार्यान्वयनका निम्ति पनि पहल गर्दै आएको समेत गभर्नर अधिकारीले बताएका छन् । आफूले हस्ताक्षर गरेको नोटको प्रयोग नगरी डिजिटल कारोबार गर्न गभर्नर अधिकारीले अभियाननै संचालन गर्नु र हरेक ठाउँमा क्यूआर कोर्डको प्रयोग गराउँदै हिड्नुले अहिले डिजिटल कारोबार बढ्दै गएको छ । गभर्नर अधिकारी यस कार्यमा निकै सक्रिय देखिन्छन् ।

कालीमाटी तरकारी बजारमा प्रभु बैंकले सुरु गर्यो क्यूआर कोर्ड

 

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाटसमग्र आर्थिक कारोबारमासरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभयो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गर्नुभयो ।
अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंकर सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफूल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

ई–रिक्सामा डिजिटल बैंकिङ कारोबार

ई–रिक्सामा पनि डिजिटल बैंकिङ कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल यात्रामा रुपन्देहीबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ई–रिक्सामा डिजिटल बैंकिङ कारोबार सुरु गरेको हो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले लुम्बिनी प्रदेशको प्रमुख शहर सिद्धार्थनगर भैरहवामा सो कार्यक्रमको सुरुवात गर्नुभयो । उहाँले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरी ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गर्नुभयो । उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताउनु भयो । ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको जानकारी गराउनु भयो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

 

सर्बसाधारणको पहुँच डिजिटलसम्म

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि.ले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारम क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड मार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाण्डौ बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताउनुभयो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवाप्रदान गर्न हरदम तत्पर रहेको बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।