बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले आइतवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति २०७७ साउन २ गते सार्वजनिक गरिएको थियो । कोभिड–१९ महामारीद्वारा सिर्जित स्वास्थ्य संकट एवम् आर्थिक असहजताका बीच सार्वजनिक मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पु-याउने उद्देश्य राखेको केन्द्रीय बैंकले जनाएको छ । वार्षिक मौद्रिक नीतिले तय गरेका आर्थिक एवम् मौद्रिक लक्ष्यलाई कायम राख्दै २०७७ मंसिर १८ गते प्रथम त्रैमासिक समीक्षा गरिएको बैंकको भनाई छ ।
बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा समष्टिगत आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक रहेका छन् । मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ भने बैक तथा वित्तीय संस्थाहरूको आधारदर घटेसँगै कर्जाको ब्याजदरमा कमी आएको छ । पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जाको उपयोग वढ्दै गइरहेको छ । वित्तीय पहुँच विस्तार हुनुका साथै विद्युतीय वित्तीय कारोवार वढ्दै गएको छ । शेयर बजार कारोबार र सूचकांङ्क दुवैमा विस्तार आएको छ ।