
कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको अर्थतन्त्रमानिकै ठूलो प्रभाव पारेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण व्यापार–व्यवसाय संचालन हुन सकेनन् । ठूला व्यापार व्यवसायमात्रै होइन, साना तथा मझौला व्यापार व्यवसायमा पनि कोरोनाको निकै नराम्रो असर परेको छ । ग्रामीण भेगका विपन्न वर्गको आर्थिक उत्थानको लागि वित्तीय सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थालाई कोरोनाको असर कतिको परेको छ ? लघुवित्त वित्तीय संस्थाले कसरी सेवा प्रदान गरिरहेका छन् र अहिलेको अवस्था के छ ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोसँग बैंकिङ खबरका लागि आकास बोगटीले गरेको कुराकानीको सम्पादित अंशः
लघुवित्तवित्तीय संस्थाहरुलाई कोभिडको कस्तो असर परेको छ ?
कोभिड नियन्त्रणको लागि सरकारले लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञाले गर्दा चैत यता करिब ७/८ महिना सम्रग क्षेत्र नै ठप्प भई आम्दानीका क्षेत्र बन्द भए । जसले गर्दा लघुवित्त संस्थाहरुको लगानी, असुलीमा करिब ९० प्रतिशत नै ब्लक रह्यो । तर, असोज यता केही मात्रामा रिलिफ भएर अवस्था सामान्य बन्दै गइरहेको छ । अवस्था सामान्य बन्दै गएपनि लघुवित्त क्षेत्रमा अझै एक डेढ वर्ष लगानी असुली र बचतको क्षेत्र केही प्रभाव त रहन्छ नै तर, पनि अवस्था सामान्यकरण हुदैजाँदा सोहीअनुरुप लघुवित्त अगाडि बढिरहेका छन् । केही मात्रामा कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्था थियो । तर, अहिले स्वास्थलाभ भई कर्मचारी काममा फर्किएको अवस्था छ ।
कोरोनाका बीचमा आएको मौद्रिक नीतिले लघुवित्तले लिने ब्याजमा क्याप लगाइदिएको छ, यसले गर्दा लघुवित्तहरुलाई कस्तो प्रभाव परेको महसुश गर्नुहुन्छ ?
अहिलेको अवस्थामा बैंकहरुको ब्याजदर कम भएकाले खासै असर परेको छैन् । बैंकहरुको ब्याजदर कम हुँदा नाफा र नोक्सानमा प्रभाव पर्ने हो त्यो चाहिँ परेको छैन । तर, यो वर्ष राष्ट्र बैंकले बैंकहरुलाई बेसरेटमा लगानी गर्न निर्देशन दिएको छ । यदि बैंकहरुले बेसरेटमा लगानी गर्न थाले भने नाफा रहदैन र लघुवित्त एउटा सामाजिक सेवा जस्तो हुन्छ । विगतमा लघुवित्तले १४ प्रतिशतसम्ममा थोक कर्जा चलाइरहेको अवस्था थियो । थोककर्जा १४, १२, १० प्रतिशत जति भएपनि अबको समयमा ब्याजदरमा लगाइएको क्यापले लघुवित्तलाई बाच्न गाह्रो हुन्छ ।
लामो समय लकडाउन हुँदा साना ठूलाव्यापार व्यवसायमा ठप्प भए, कोभिडले लघुवित्तका ग्राहकहरुलाई कस्तो असर गरेको छ ?
समग्रमा हेर्दा कोभिडले सम्पूर्ण क्षेत्रलाई असर पारेको छ । जसमा लघुवित्त समेत अछुतो रहेन । करिब सात आठ महिनालामो लकडाउनले व्यापार–व्यवसाय ठप्प भएजसकारण आम्दानी हुन सकेन । मुख्यतया नेपाल भारत सिमाक्षेत्र नजिक बसोबास गर्ने ग्राहक र साना ठूला खाजापसल, होटल व्यवसाय गर्ने लघुवित्तका ग्राहक व्यवसायीलाई कोभिडको अलि बढि असर गरेको पाइन्छ । त्यसकारण ग्राहकले नियमित रुपमा किस्ता ब्याज तिर्न नसकेको अवस्था हो । तर, अवस्था सामान्य बन्दै गरेको अवस्थाले गर्दा त्यसलाई सामान्जयस्यता गरेर नियमित गराउने प्रयास भइरहेको छ । केहि मात्रमा सामान्यीकरण तर्फ उन्मूख भइरहेको अवस्था हो, तर पनि पूर्ण रुपमा भने कोरोनाको खोप आइसकेपछि सामान्यकरण हुन्छ भन्ने अपेक्षा छ ।
अहिले लघुवित्तका ग्राहकले ऋणको साँवा र ब्याज समयमाभुक्तानी गरिरेका छन् कि छैनन् ?
लामो समयसम्मको बन्दाबन्दिले ठप्प रहेका उद्योग व्यवसाय संचालन भएका छन् । अहिले अवस्था सामान्य बन्दै गर्दा करिब ७० प्रतिशत ऋणीले नियमित भुक्तानीलाई निरन्तरता दिएका छन् । तर बीचको ७/८ महिनाको समय जतिबेला व्यापार व्यवसाय ठप्प थिए, सोही समयको किस्तातिर्न भने ग्राहक अझै असमर्थ छन् । त्यतिबेलाको किस्ता असुली हुन अझै केही समय लाग्छ ।
एक वर्ष अगाडि लघुवितत्लाई स्रोतको अभाव थियो । अहिले त प्रयाप्त छ होला नि ?
अहिले र आजको दिनसम्ममा स्रोत प्रयाप्त देखिन्छ । तर, अबको केही समयमै क्राइसिस सुरु भयो भने के हुन्छ त्यो चाहिँ पछाडि नै थाहा हुन्छ ।
लघुवित्त मर्जरको लहर चलेको छ, यो मर्जर कति संख्यामा झर्ला ?
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त संस्था मर्ज भएर ६० को हाराहारीमा आउँछन् भन्ने अनुमान हो । अहिलेको अवस्थामा ७२/७५ संस्था मर्जरको प्रक्रियामा छन् । कति संस्थालाई त राष्ट्र बैंकले ‘एल्लो आई’ दिइसकेको अवस्था छ । समग्रमा असार मसान्तसम्ममा लघुवित्त संस्था मर्ज भई ६० को वरिपरी पुग्ने देखिन्छ ।
यतिबेला लघुवित्त संस्थाले के कस्ता योजना बनाएर ग्राहकहरुलाई कर्जा प्रवाह गरिरहेका छन् ?
अवस्था सामान्य बन्दै जादा जहाँ व्यापार व्यवसाय सुरु भइरहेका छन् त्यस्तो क्षेत्रमा कर्जा प्रवाह गरिरहेका छौं तर, जहाँ व्यापार व्यवसाय नै संचालन हुन सकिरहेको छैनन् त्यस्ता क्षेत्रमा कर्जा वितरण गर्ने कुरा हुदैन । त्यसमाथि कर्जा व्यवस्थापनको लागि राष्ट्र बैंकले केहि सहुलियत दिएको छ । त्यसलाई बढाउने गरी लघुवित्त संस्थाले व्यवस्थापन गरिरहेका छन् ।
अन्तमा, राष्ट्र बैंकले लघुवित्तका लागि गर्नु पर्ने सुधारका कामहरु केहि छन् कि ?
अहिलेको अवस्थामा राष्ट्र बैंकले लघुवित्त संस्थालाई सपोर्ट गरेको छ । राष्ट्र बैंकको साथ सपोर्टले गर्दा लघुवित्त क्षेत्रको विस्तार भएको हो । तर, राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दा समग्र क्षेत्रलाई मध्यनजर गर्ने गर्छ । तथापी अहिलेको अवस्थामा ब्याजदरमा लगाइएको जुन १५ प्रतिशत क्याप छ अहिलेको अवस्थाको लागि त ठिकै हो । अहिले तरलताका कारण पुँजीको प्रयाप्तता भएसम्म ठिकै हो । तर, यो क्षणिक भएकाले राष्ट्र बैंकले ब्याजलाई १६ प्रतिशतमा राख्दा भोलिको दिनमा स्वच्छ प्रतिस्पर्धाको वातावरणबाट लघुवित्त संस्था अगाडि बढ्न सक्थे । राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा लगाइएको क्यापको पूनर्विचार गर्नु पर्दछ । राष्ट्र बैंकले मर्जरको नीति ल्याएसँगै लघुवित्त संस्था मर्ज चरणमा छन् । देशमा २५/३० भन्दा बढि लघुवित्त आवश्यक छैनन् । पहिले लघुवित्त संस्थाको एउटा कोष थियो । पछि राष्ट्र बैंकले कोष राख्न नपाइने निर्देशन दियो । तर, यति बेला कोष नभएका कारण कर्जाको जोखिम बढेर गएको छ । लघुवित्तले आफ्नै कोष खराब ऋणी तथा जोखिम परेको ऋणीलाई कोषको व्यवस्थापन गर्नसक्ने वातावरण राष्ट्र बैंकले बनाईदिए लघुवित्त संस्थाको लागि राम्रो हुन्थ्यो । लघुवित्तले ६७ प्रतिशत बिना धितो लगानी गर्नुपर्नेहुन्छ । जसमा कतिपय अवस्थामा सदस्य ऋणी भाग्ने गरिदिदा त्यो ऋण त डुब्छ त्यसकारण लघुवित्तको संरक्षणको लागि एउटा फन्ड तयार पार्न पाए लघुवित्तको लागि राम्रो हुन्थ्यो ।