२०७७ मंसिर १९ गते

शेयर बजार र मानव जीवन

-योगेन्द्र रेग्मी
मानव जीवन चक्र र शेयर बजार बिचमा अन्तर सम्बन्ध रहेको छ । मानवीय जीवनको र शेयर बजारको कस्तो सम्बन्ध रहन्छ भन्ने विषयमा निम्नानुसार व्याख्या गर्ने प्रयास गरिएको छ ।

१.बाल्यकाल : मानिस जन्मेदेखि बाबु आमाको काखमा तथा उनीहरुकै संरक्षणमा रहने र हरेक दिन नयाँ विषयहरु सिक्ने पढ्ने र ज्ञान हासिल गर्ने समय हो । सामान्यतया यो उमेर १८ वा २० वर्षसम्म रहन्छ । आठ वर्ष भएपछिको अवस्थामा विद्यार्थी काल भनिन्छ पहिले गुरुको आश्रममा बसेर अध्ययन गर्ने चलन थियो ।

२.जवानी अवस्था : यस अवस्थामा उच्च शिक्षाको क्रम जारी रहन्छ । कति आंशिक रुपमा अध्ययन र काम गरेर आय आर्जनतर्फ पनि लाग्दछन् । यो उमेर २० वर्षदेखि झण्डै ३० वर्षलाई लिन सकिन्छ । नेपालमा यस अवस्थामा कतिपय रोजगारी तथा भविष्यको आफ्नो पेशा समेत छनोट गरी त्यसतर्फ लाग्ने तथा वैवाहिक जीवनमा समेत प्रवेश गर्दछन् । त्यसैले यसलाई पारिवारीक जीवन प्रवेश पनि भनिन्छ । यस्तो अवस्थामा कतिपयले अध्ययन क्रममा लिएको ऋण समेत बुझाउन पर्ने पनि हुन सक्दछ । त्यसैले यस अवस्थामा कर्जा तथा आय दुबै हुन्छ । यस अवस्थामा खर्च बढी हुने भएकोले अरुको सहयोग पनि आवश्यक हुन सक्दछ ।

३.रोजगारीमा प्रवेश : ३० वर्षको उमेर वा सो भन्दा तल नै सामान्यतया मानिस काम गर्ने तथा रोजगारीमा लागि सकेको वा लाग्न सक्षम हुन्छ । वैवाहीक जीवन समेत शुरु हुने वा बच्चा जन्मने भएकोले आय आर्जन अनिवार्य नै हुन्छ । उनीहरुको पालन पोषणको समेत जिम्बेदारी हुन्छ । यस समयमा भर्खर आय आर्जन तथा पेशाको प्रारम्भ भएको कारणले आय कम तथा खर्च बढी हुनु अति नै सामान्य मानिन्छ । यसै अवस्थामा पारिवारीक जिम्वेदारी तथा उनीहरुको जोखिम वयवस्थापन गर्नका लागि जीवन बीमा समेत खरीद गर्न पर्ने र आकस्मिक खर्चको लागि बचत पनि जरुरत पर्दछ । नवजात शिशु बढ्दै गएको आधारमा शिक्षाको समेत प्रबन्ध गर्नुपर्ने हुन्छ । साथै यस अवस्थामा जग्गा किन्ने घर बनाउने वा स्थायी आवासको खाँचो महशुस हुने भएकोले यस अवस्थामा शेयर बजारमा लगानी त्यति संभव नहुन पनि सक्दछ ।

४.पेशागत विशिष्टीकरण : कार्य अनुभव तथा ज्ञानका आधारमा दक्षता अभिवृद्धि हुन गई काममा बढुवा हुने तथा पेशा तथा व्यवसायमा थप विशिष्टीकरण हासिल हुन गई स्तर वृद्धि र आम्दानी समेत वृद्धि हुँदै जान्छ । यसपछि सम्पत्तितर्फको लगानी जस्तै घर जग्गा तथा शेयर बजारतर्फ पनि पूँजी प्रवाह गर्न प्रारम्भ हुन सक्दछ । छोरा छोरी ठूलो हुने हुदाँ उनीहरुको माँग बढ्न जान्छ, साथै उनीहरुको उच्च शिक्षामा लगानी गर्न पर्ने कारणले खर्च बढ्दछ । तर आम्दानी समेत बढ्ने भएको कारणले केही बचतको प्रारम्भ हुन जान्छ । यसै समयमा सेवा निवृत्त अवस्थाका लागि बचत गर्ने वा लगानी गर्ने योजना बनाउन पनि उपयुक्त हुन्छ । यस सम्बन्धमा पारिवारीक सल्लाह गरेर योजना बनाउन जरुरी ठानिन्छ ।
यो अवस्था सामान्यतया ३५ वर्षदेखि ५५ वर्षसम्म हुन सक्दछ । छोरा छोरीको अध्ययन सकेर जब उनीहरु कामतर्फ लागेपछि उनीहरुको आम्दानी हुने भएकोले यस अवस्थामा खर्च कम हुने र आम्दानी बढ्न जान्छ । त्यसैले यस अवस्थामा बचतको व्यापक प्रारम्भ हुन सक्ने भएकाले र सेवानिवृत्त अवस्थाकालागि लगानी योजना समेत बनाएर लगानी गर्ने हुदाँ यस अवस्थामा यो वास्तवमा शेयर बजारमा सकेसम्म लगानी गर्ने वेला हो र गर्ने बढो उपयुक्त समय हुनेछ । अब छोराछोरीको लागि खास लगानी गर्न नपर्ने तर आमा बाबु वृद्धवृद्धा हुने भएकोले उनीहरुको ख्याल गर्न पर्ने जिम्बेदारी हुन्छ । तर उनीहरुलाई सामान्य खानपिन, बस्ने व्यवस्था, औषधी उपचार र हेरचाह गर्नु पर्ने हुन्छ । ५० वर्ष काटे पछि, बरु आफैलाई सामान्य स्वस्थ्य समस्या देखा पर्न सक्ने भएकोले योगा, व्यायम र ध्यान जस्ता पक्षमा सोच्न पर्ने हुन सक्दछ । औषधी उपचार खर्च बढेको अवस्थामा स्वस्थ्य बीमा पनि खरीद गर्न पर्ने हुन सक्दछ ।

५. अग्रीम अवकाश : ५० देखि ५५वर्षको उमेरमा कामबाट अग्रीम अवकाश लिने संभावना हुन सक्दछ । तै पनि नयाँ काम खोजी गरी नयाँ काममा आफ्नो ज्ञान सीप तथा अनुभव प्रयोग गरेर आय आर्जन तथा ज्ञानको शेयर गर्न सक्दछन् । अवकाशबाट प्राप्त सम्पत्ति स्थायी तथा शेयर बजारतर्फ लगानी गरी सो को उपयुक्त व्यवस्थापन गर्न पनि ठीक नै ठानिन्छ । त्यसैले यो वेला पनि शेयर बजार तथा स्थायी सम्पत्ति व्यवस्थापनमा क्रियाशील हुने वेला हो । यस अवस्थामा औषधी उपचार खर्च बढ्न सक्ने हुनाले त्यसको लागि केही बचत गर्न वा स्वस्थ्य बीमा जरुरी हुन्छ ।

६. ढिला अवकाश : खासगरी ६० वा सो पछि लिने अवकाशलाई ढीला अवकाश पनि भनिन्छ । यस वेलामा नै नभए पनि अब विस्तारै बजारमा शेयरको मूल्य हेरेर क्रमश विक्री गरी विस्तारै शेयर बजारको लगानीलाई नगदमा परिणत गरी अबको खास लागानी क्षेत्र शेयर बजारबाट सरकारी बचत पत्र, टे«जरी विल्स, डिभेञ्चर तथा मुद्दती वा स्थायी प्रतिफल पाउनेतर्फ लगानी गर्न उपयुक्त हुन सक्दछ । यस अवस्थामा थप आय नहुने भएकोले भएको सम्पत्तिलाई सन्तुलित हिसाबले खर्च गरी जीवन निर्वाहा गर्न पर्ने हुन्छ । यस अवस्थामा छोरा छोरीको साथ वा रेखदेख पनि अति महत्वपूर्ण र आवश्यक हुन सक्दछ ।

७. बुढेसकाल : निवृत्तिभरण (Pension) पाउनेले सोबाट र नपाउनेले आफ्नो जे बचत छ त्यहीबाट जीविका चलाउन पर्ने हुनसक्दछ । यस अवस्थामा आम्दानी खासै नहुने उही बचत वा लगानीको ब्याज मात्र हुने वा स्थायी सम्पत्ति जस्तै घरभाडा वा अन्य आयस्ता मात्र हुन्छ । धेरै टाढा यात्रा गर्न मन नलाग्ने तथा घर छिमेकमा समय गुजारा गर्ने अवस्था हुन्छ । कतिपयले बचेको सम्पत्ति कसलाई दिने हो ? छोरा छोरी नाती नातिनी लाई वा ट्रष्टलाई जिम्मा लगाउने भए त्यसको पनि कानूनी व्यवस्था गर्न ठीक हुन सक्दछ ।

८. वृद्ध अवस्थाः ८० वर्ष काटे पछि, धेरै कुराहरु सहयोगी वा अरुले व्यवस्था गरिदिन पर्ने पनि हुन सक्दछ । त्यसैले यस समयमा अरुको साथ सहयोग जरुरत पर्दछ । संरक्षकत्वको खाँचो समेत आवश्यकत्ता पर्न सक्दछ । यसवेला स्वास्थ्य उपचारकोे लागि जरुरत पर्ने भएकोले अस्पतालको नजिक वा सुबिधायुक्त स्थानमा बस्न उपयुक्त हुन्छ । अब बाँकी सम्पत्तिलाई दान दातव्य तथा हस्तान्तरण गर्न पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । जसलाई Estate Planning पनि भनिन्छ ।

उपरोक्त विष्लेषण सामान्य मानवीय जीवन चक्त तथा आय व्यायको सामान्य विष्लेषण मात्र हो । यसै आधारमा शेयर बजारमा पर्न सक्ने प्रभावको बारेमा चर्चा गरीएको मात्र हो । यो सबैको जीवनमा नमिल्दो पनि हुन पनि सक्दछ, तर यसलाई करीब करीब विष्लेषण मात्र भएकोले र यसरी शेयर बजारमा व्यक्तिगत लगानीमा असर पर्दछ । शेयर बजारमा पूँजी परिचालन गर्दा सदा जानिमकारहरुको सरसल्लाहा लिएर लगानी गर्दा धेरै विषयमा परिचित भएर अगाडी बढन बढी सान्दर्भिक पनि हुन्छ ।