२०७७ मंसिर १९ गते

अध्यक्ष लम्सालको प्रश्न– लघुवित्तका ऋणीहरुलाई खै अनुदान ?

लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त संस्थाका ऋणीहरुलाई पनि ब्याज अनुदान उपलब्ध गराउनु पर्ने बताएका छन् । बैंकिङ खबरसँगको अन्तरवार्तामा अध्यक्ष लम्सालले अन्य बैंक तथा वित्तीय संस्थाका ऋणहरुलाई दिने गरिएको ब्याज अनुदानको सुविधा आफ्ना ग्राकहरुले पनि पनि पाउनु पर्ने बताए ।
‘क, ख र ग वर्गका बैंकबाट लिएको ऋणमा ५ प्रतिशतमा व्याज अनुदान दिएको छ तर माइक्रोफाइनान्सका ऋणीहरुलाई भने त्यस्तो अनुदान दिन सकिएको छैन, किन ?’ अध्यक्ष लम्सालले प्रश्न गरे । यद्यपि, यसका लागि सरकार तथा केन्द्रीय बैंकसँग समेत समन्वय भइरहेको भन्दै अध्यक्ष लम्सालले चाडैँ यो समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । प्रस्तुत छ, समसामायिक विषयमा अध्यक्ष लम्सालसँग बैंकिङ खबरका लागि अपेक्षा ढुंगानाले गरेको कुराकानीको सम्पादित अंशः

समग्रमा कोभिडले माइक्रोफाइनान्सलाई कस्तो असर पार्यो ?
बिगतका दिनमा कोभिडले समग्र लघुवित्त क्षेत्रलाई नराम्ररी नै असर ग¥यो । अब बिस्तारै बजार चलायमान हुदैछ । केही राहत पनि भएको छ, तर विगतमा ग्राहकहरुलाई परेको अप्ठ्यारोले असर त पा¥यो । तथापि, विस्तारै सहज परिस्थिति आएका कारण अब समस्या नआउला भन्ने विश्वास छ ।

बजार चलायमान भइसकेपछि भने माइक्रोफाइनान्सले कर्जा प्रवाह कुन गतिबाट अघि बढाएको छ ?
बजार चलायमान हुन थालेसँगै कर्जाको माग बढ्न थालेको छ । बजारको सुधारसँगै आफ्नो व्यापार व्यवसायमा लगानी गर्न थालेका छन् । विगत एक डेढ महिनादेखि राम्रो सुधार भएको पाएका छौँ ।

माइक्रोफाइनान्सले स्रोतको पनि अभाव झेलिरहेको थियो, अहिलेको अवस्था के छ ?
अहिले हामीलाई स्रोतको अभाव छैन । हाल बैंक तथा वित्तीय संस्थाहरुमा तरलता उच्च भएकोले कम दरमै सहज उपलब्धता भइरहेको छ ।

केन्द्रीय बैंकले माइक्रोफाइनान्सहरुलाई ब्याजदरमा क्याप लगाएको छ, यहाँहरुले तोकिएको व्याजदरभित्र रहेर काम गर्न सक्नुहुन्छ ?
हालको १५ प्रतिशतको क्यापले हामीलाई खासै असर गरेको छैन । हाम्रो लागत पनि घटेको छ । भोलीको दिनमा लागत बढ्यो भने अप्ठ्रयारो पर्न सक्छ । यद्यपी आजको दिनमा भने १५ प्रतिशतको कामले हामीलाई असर पारेको छैन ।

कोभिडको असर अहिले पनि सकिएको छैन, तपाईहरुका ऋणीहरुलाई यतिबेला साँवा तथा ब्याज (किस्ता) तिर्न कत्तिको गाह्रो परेको अवस्था छ ?
बजार चलायमान भएसँगै ग्राहकहरुको व्यवसायमा पनि सुधार भएको छ । ग्राहकहरुले पनि रेगुलर किस्ता तिर्न सक्छौ भन्ने अवस्थामा हुनुहुन्छ । तर पुरानो ऋण तिर्न भने उहाँहरुलाई केही समय समस्या नै छ ।
कोभिडका कारण भएको व्यवसायको नोक्सानीले गर्दा तत्काल पुरानो ऋण तिर्न सहमत नभएपनि विस्तारै यसलाई पनि मिलाएर लैजानेमा सहमत हुनुहुन्छ ।

समग्र लघुवित्तमा प्रविधिको प्रयोग के–कसरी अघि बढीरहेको छ ?
माइक्रोफाइनान्समा टेक्नोलोजिको विस्तारले खासै गति लिन सकेको छैन । तर हामी विस्तारै टेक्नोलोजीलाई पच्छ्याउँदै अघि बढ्ने जमर्को गरीरहेका छौँ । धेरै संस्थाहरुसँग पनि पेमेन्ट सिस्टमलाई डिजिटल गर्नुपर्छ भनेर छलफल गरीरहेको अवस्था छ । हामीले पनि डिजिटल सिस्टम अहिलेको आवश्यकता हो भनेर जोड दिएका छौँ ।
विजय लघुवित्तको कुरा गर्ने हो भने यहाँ पनि हामीले छलफल गरेर भित्र्याउने तर्खरमा छौँ । यसको आवश्यक्ता र महत्व भएपनि सबैतिर यसको विस्तार भने भएको छैन । रीपोर्टीङ अनलाइन सिस्टममा हुने भएतापनि पेमेन्ट सिस्टमलाई डिजिटलाइजेसन बनाउने कुरामा बिस्तारै पहुँच बढाउदै छौँ ।

कोरोनाको असहजतापछि धेरैजना गाउँ पनि फर्किएर कृषिमा हात हालेको अवस्था छ , यसले लघुवित्तको ग्रामिण क्षेत्रको विकासमा सुनौलो युगको शुरुवात गर्ला ?
पहिलेदेखि नै माइक्रोफाइनान्सको ठुलो लगानी कृषिमा नै छ, लगभग हाम्रो ५० प्रतिशत लगानी कृषिमै रहेको अवस्था छ । यसमा इच्छुक वर्गलाई पनि हामीले सहयोग गरीरहेका नै छौ । तर पछिल्लो चरणमा राज्यबाट कृषि कर्जाका लागि पाउने सुविधाहरु छ त्यो पाएका छैनौ ।
यस्तै, “क” “ख” “ग” वर्गका बैंकबाट लिएको ऋणमा ५ प्रतिशतमा व्याज अनुदान दिएको छ तर माइक्रोफाइनान्सका ऋणीहरुलाई भने त्यस्तो अनुदान दिन सकिएको छैन, किन ? यसको लागि हामीले नेपाल सरकारसँग पनि समन्वय गरीरहेका छौँ । राष्ट्र बैंकसँग पनि छलफल गरीरहेका छौँ । यसले राम्रो निष्कर्ष ल्याउँछ भन्ने मेरो अपेक्षा पनि छ ।
यसैगरी म्रौद्रिक नीतिमा हामीले केही कुराहरुको अनुरोध गरेका छौँ । केही कुराहरु संशोधन पनि भएको छ । कोभिडको असर परेको कारणले ग्राहकहरुको बिजनेश स्लो डाउन भएको छ । विशेषत हाम्रा ऋणीहरुलाई किस्ता तिर्न असहजता कायम छ । त्यसका केही विकल्पको लागि हाम्रो विशेष जोड छ ।
रिसोर्सको हिसाबले तत्काल हामीलाई कुनै अप्ठ्यारो भने छैन ऋणीहरुलाई समय दिने, कर्जा सूचनाको विषयमा जोड यस्तै, नेपाल सरकारको कृषि कर्जा, सहुलियतपूर्ण कर्जामा लघुवित्त समावेश भएको छैन किनभने हाम्रो निर्देशन र केन्द्रीय बैंकको कार्यविधिमा केही कुराहरु बाझिएको छ । यी समस्याको निक्र्यौलको अपेक्षा गरेका छौँ ।