२०७७ कार्तिक १९ गते

व्याज अत्याधिक घटेपछि बैंकमा बचत गर्नेहरु निराश हुन थाले

बैंकिङ खबर । व्याज अत्याधिक घटेपछि बैंकमा बचत गर्नेहरु निराश हुन थालेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ३ करोड भन्दा बढी निक्षेप खाता छन् जसमध्ये पनि अधिकांश बचत खाता रहेका छन् । जसले बैंकमा आफ्नो पूँजी सुरक्षित रहन्छ, चाहिएको बेला पाइन्छ र व्याज पनि पाइन्छ भन्ने आशले राखेका हुन्छन् । तर निक्षेपमा व्याज घट्न थालेपछि उनीहरु निराश बन्दै गएका छन् । कुनै समय व्याज बढी भएकै कारण नेपाल बैंकर्स संघले व्याजमा एकरुपता कायम गर्ने भन्दै निक्षेपमा ११ प्रतिशतभन्दा बढी व्याज दिन नपाउने निर्णय गरेको थियो । जतिबेला बैंकहरुले निक्षेप संकलनमा व्याज बढाउँदै जाँदा १३ प्रतिशतसम्म व्याज दिएका थिए । अहिले बैंकमा कर्जाकै व्याजदर एकल अंकमा झरीसकेको छ । बाणिज्य बैंक र विकास बैंकहरुले १० प्रतिशत भन्दा कम व्याजमा ऋण दिन थालेका छन् । बैंकर्स संघले व्याजदरको सिन्डिकेट तोडेर खुल्ला बनाइसकेको छ । संघले प्रतिश्प्रर्धाका आधारमा व्याजदर लागु गर्ने निर्णय गरेको हो । निक्षेपतर्फको व्याजदर मुद्धतिमा व्यक्तिगत तर्फ करिव ७.५० प्रतिशतको रेसीयोमा छ । सामान्य बचत खातामा व्याज ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहेको छ । कुनै समय बैंकमा निक्षेप गरेरै व्याज खान्छु भन्नेहरु अहिले व्याज अति कम हुन थालेपछि अप्ठ्यारोमा परेका छन् । व्याजदर बढाउँदा चौतर्फी चर्चा लिने बैंकहरुले व्याजदर घटाउँदा भने आफ्ना ग्राहकहरुलाई सूचना दिन समेत आवश्यक ठान्दैनन् । यसले ग्राहकहरुको बैंक प्रतिको विश्वास घटाउन सक्छ ।
हाल बैंकमा पैसा थुप्रीएको छ । लगानी योग्य पुँजी धेरै छ । लकडाउनका कारण लगानीका क्षेत्रहरु साँघुरीएका छन् । केही व्यबसायहरु संचालनमा आएको भएतापनि व्यापार व्यबसाय राम्रो हुन सकेको छैन । बजारमा तरलता बढीरहेको छ । बैंकहरुसँग भएको तरलता उठाउन राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन सुरु गरिसकेको छ । तर तरलता बढेसँगै ऋण बिस्तार हुन नसक्दा ब्याज माथि जान सकेको छैन । माघ फागुनमा भने तरलता कम हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । सामान्यतया काम गर्ने अबस्था अझै निर्माण भएको छैन । जसले गर्दा व्यापार व्यबसायको मन्दीले पैसा परिचालन गर्ने आधार छैन । यसैकारण पनि हाल बैंकमा निक्षेप बढेर र व्याज घटेर गएको छ । त्यस्तै, कोरोनाको प्रभाव बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर क्रमशः घटाए । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको हो । वाणिज्य बैंकहरुको बचतको व्याजदर हेर्दा औषतमा २.८० प्रतिशत न्युन र ४.६५ प्रतिशत उच्च रहेको देखिन्छ ।