योगेन्द्र रेग्मी
मलाई शेयर बजारको बारेमा निकै चाख लाग्दथ्यो । त्यसैले म आर्थिक र शेयर बजार सम्बन्धित समाचार पढ्दथे त्यस बेला काम गर्दा मैले काम गरेको नेपालको संस्थामा The Economic times भारतबाट आउथ्यो । त्यो मैले पाएसम्म पढ्थे । जागिरले हात मुखकै समस्या हुने शेयर किन्न त पैसा नहुने, त्यसैले आइपिओ बाहेकको हैसियत कहिल्यै नहुने । एकपटक बीस हजार सापटी लिएर शेयर ब्रोकर कहाँ किन्न गए । उहाँले केही जान्नु हुन्छ भनेर सोधेको त सिधै ‘यो त जुवा हो हजूर’ भन्नु भयो । यो भाषा पछिका विद्वान तत्कालीन अर्थ मन्त्रीहरु डा. बाबुराम भट्टराई र डा. युवराज खतिबडासम्मले बोल्न पछि परेनन् । वास्तवमा लहैलहैमा मनपरी लगानी गर्नेको लागि शेयर बजार जुवा हुन सक्ला । मैले उहाँलाई अनुरोध गरे यो जुवा होइन यसमा लगानी गर्नेको उद्देश्य हुन्छन् हजूर जस्तो मान्छेले त्यसो भन्न हुदैन बरु कुन कम्पनी राम्रो छ ? भन्नु होस् भनेको त्यो वेला ‘स्टाइण्डर चार्टर बैङ्कको ख्याति तथा शेयर मूल्य महङ्गो थियो । यो राम्रो छ, दोस्रो मूल्य नबिल बैङ्क तर यो बैङ्कको आमा अल्ली अपरीचत छ त्यति सूचना थाहा छैन’ भन्नु भयो मैले पनि केही तयारी गरेर गएकोले स्टाइण्डर चार्टर बैङ्कको १० कित्ताको लागि रकम पुग्ने हुदाँ अर्डर गरेर कमिसन र शेयरको पैसा जम्मा गरे । नपुगे थप्ने बढी भए फिर्ता लिने भनेर । त्यो वेला सबै कुरा म्यानुयल हुन्थ्यो । त्यो वेला नै प्रति शेयर रू.२२०० जतिमा किनेको शेयर अहिले रू.७०० प्रति शेयरको हाराहारी छ । सिधै हिसाब गर्दा रू.१५०० र कमिसन घाटामा छ । यही हिसाबले हेरे शेयर बजार जुवा होला । म वित्त शास्त्रको विद्यार्थी तथा सम्पत्ति व्यवस्थापनमा एमबिए गरेकोले थोरै कुरा बुझ्न सक्दछु ।
एक पटक मेरो दाज्यू र मेरो साथीले यो शेयर बजारमा लगानी गर्ने योजना बनाई दिन आग्रह गरेपछि मैले पैसाको स्रोत सोधे दुबैले सबै रकम बैङ्कबाट ओभरड्राफ्ट लिने भने पछि मैले यसरी शेयर बजारमा लगानी गर्ने होइन यस्ताको लगानी योजना म बनाउन सक्दिन भने र बनाईन । तर एकजना मीत्रले यो कुरा थाहा पाए पछि लगानी योजना बनाई दिन भन्नु भयो र उहाँको पैसा मुद्दती खातामा रहेछ, लगानीको उद्देश्य बैङ्कको ब्याज भन्दा बढी आर्जन गर्ने रहेछ । त्यसैले मैले शेयर बजार अध्ययन गरे दुई दिन लगाएर जाने जतिको बुद्धि प्रयोग गरी १५ वटा कम्पनी छानेर तिनको क्रमस स्तर तोकेर दशलाख लगानी गर्न बढीमा सात कम्पनी छान्न लगाए । उहाँले १५ कम्पनी मध्येकाट ६ वटा जति आफै छान्नु भयो र लगानीको सीमा बाँडफाँडको सल्लाह दिए । सो अनुसार उहाँले लगानी गर्नु भयो । त्यसपछि उहाँले मसंग सो बारे सोध्नु भएन, मैले सोध्दा राम्रो छ भन्नु हुन्छ । यो लगानी तरिका होइन भन्ने मेरो ठहर छ । यसको लागि समय समयमा आफूले गरेको लगानीको पूनरावलोकन जरुरी हुन्छ, यसमा सच्याउन पनि जरुरी हुन्छ । त्यसैले यसका जानिमकारको सल्लाह चाहिन्छ । यदि तिहारमा कौडा, पासा वा झण्डा बुर्जा खेल जस्तो च्याँखे थाप्ने भए यस्तो जरुरी हुदैन ।शेयर बजारमा लगानी गर्दा धेरै पक्षहरुमा विचार गर्न पर्ने विषय विभिन्न माध्यमबाट व्यक्त गर्दै आएको छु । हुन त विज्ञले भनेका कुरा त कहिले कहीँ फेल खान्छन् । म जस्तो शेयर बजारमा चाख राख्ने सिकारु विद्यार्थीको के कुरा । त्यसैले शेयर बजार अत्यन्तै जोखिम र जटिल पनि छ, धेरै पक्षमा विचार गरेर लगानी गर्न पर्दछ भन्ने मेरो भनाई हो । शेयर बजारमा लगानी गर्दा कम्तिमा निम्नपक्षहरुमा विचार गर्न सख्त जरुरी हुन्छः
१. लगानीकर्ताको जीवन पद्दती तथा अवस्थाः
लगानीकर्ता कुन उमेरको हो जवान भएमा शेयर बजारमा लामो अवधिको लागि लगानी गर्न सक्दछन् । उनीहरुले आवश्यक परे अर्को जस्तो पनि काम गरेर आर्जन गर्न सक्दछन् । लगानी घाटै भए पनि सो पीडालाई सहज ढङ्ग लिन सक्दछन् । सेवानिवृत्त तथा अल्ली पाको उमेरका लागि लामो अवधि पर्खन अवश्य गाह्रो हुन्छ । त्यसैले यस्तो बढी उमेरकाहरुलाई शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्न हुदैन । यस्तालाई शेयर मूल्यमा कमी आउदा मानसिक पीडा समेत हुनसक्दछ, त्यसैले यस विषयमा सोच्न पर्दछ । त्यसैले एक निश्चित उमेर पछि शेयर बजारमा गरिएको लगानी विक्री गरी नगदमा परिणत गरेर राख्न पनि उपयुक्त हुन्छ । जवान बालबच्चा भएकोले केहीँ रकम उनीहरु बिरामी हुदाँलाई समेत छुट्यार मात्र शेयर बजारमा लगानी गर्नु पर्ने हुन्छ । त्यसैले लगानीकर्ताको उमेरको अवस्था पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
२. लगानी गर्ने सम्पत्तिको स्रोतः
सबै भन्दा पहिला शेयर बजारमा लगानी गर्ने पैसा कस्तो स्रोत हो ? भन्ने एकिन हुन जरुरी हुन्छ । ऋण हो भने त्यसको व्याजदर, फिर्ता गर्नु पर्ने अवधि, शर्तहरु, सो को भुक्तानी अवधि भित्र बुझाउन पर्ने भए आउने आफ्नो स्रोत आदि । बचत हो भने कहिलेसम्म लगानी गर्न सकिन्छ जस्तै दीर्घकाल, मध्यामकाल र अल्पकाल, त्यस्तै अवकाश कोषको रकम हो भने प्रतिशत हिसाब गरेर अन्य क्षेत्रमा बैङ्क निक्षेप, स्थायी प्रतिफल दिने ऋणपत्र र शेयर लगानी आदिमा मिश्रण गर्न उपयुक्त मानिन्छ । नियमीत अरु आम्दानी भएमा लामो अवधिको लागि लगानी गर्न सकिन्छ । यसरी लगानी गरेको रकम केही वर्ष शेयर मूल्य घटे पनि कुर्न सकिन्छ र आफ्नो मूल्य आए पछि विक्री गरी नगदमा परिणत गर्न सकिन्छ ।
३. लगानीको अवधिः
यसमा खास गरी लगानी गर्न सक्ने अवधि जस्तै २, ४, ५ वर्ष आदि । भविष्यमा सो लगानी गरेको सम्पत्तिको प्रतिफल तथा पूँजी बढाएर घर जग्गा खरीद गर्दा र इक्वीटी हाल्ने योजना भएमा लगानीको दोब्बर मूल्य प्राप्त भएको बखत विक्री गरी नगदमा परिणत गर्न उपयुक्त हुन्छ । यसपछि लगानी स्थायी सम्पत्तितर्फ लगानी सारेर वा अरु खातामा राखेर घर जग्गा खोज्नतर्फ लाग्न पनि उपयुक्त हुन्छ । थोरै अवधिको लगानीकोलागि शेयर बजार भन्दा डिभेञ्चार, विकास ऋणपत्र तथा मुद्दती खातामा राख्न उपयुक्त हुन्छ ।
४. लगानीको लागि उपलब्ध रकमः
थोरै थोरै गरेर लगानी गर्ने भए सानो तथा थोरै शेयर दोस्रो बजारमा किन्दा खर्चिलो हुने तथा किन्नै नपाइने हुन सक्दछ । यस्तो अवस्थामा डिभेन्चर, विकास ऋणपत्र, मुद्दती खाता वा बचत नै ठीक हुन सक्दछ । यस्तो अवस्थामा प्राथमिक बजार पनि अत्यन्तै सुहाउदो हुन्छ ।
५. आम्दानीको लक्ष्यः
शेयर बजारमा लगानीको प्रतिफल खासगरी दुई प्रकारले प्राप्त हुन्छ । पहिलो लाभांश (यसमा नगद लाभांश र बोनस शेयर), दास्रो विक्रीमा नाफा । लाभांशको लागि लगानी गर्दा खासगरी बढी प्रतिफल दिने तथा लाभांश दर स्थायी भई राखेका र उच्च प्रतिशतमा दिई राखेका कम्पनीहरुलाई रोज्न पर्दछ । जस्तै नबिल बैङ्क, एभरेष्ट बैङ्क, एलआईसी नेपाल, चिलिमे हाइड्रो आदि । तर एक छिन लगानी गर्ने तर नाफा आउनासाथ विक्री गरी कुलेलम ठोक्ने भए बढी चल्ती फिर्तिका र सस्ता शेयरतर्फ लाग्दा पनि उपयुक्त हुन सक्दछ । नेपालको शेयर बजारको लगानी कर अत्यन्तै अव्यवहारिक तथा भद्रगोल प्रकारको भएको र दोहोरो कर प्रणाली भएकोले करको विषयमा सोच्न जरुरत छैन । नेपालमा कम्पनीले आम्दानीमा कर तिरे पछि (लाभांश पाउनेले पनि फेरि कर तिरेर मात्र पाउछ) लाभांश पाउदा सोमा फेरि कर तिर्न पर्ने हुदाँ र ‘बेच्दा नाफा भए कर तिर सरकारको, घाटा भए तिम्रो वा तिम्रो बाबुको मलाई के मतलब’ भनेर सरकारले भन्ने हुदाँ यो पक्ष चाहि हेर्न जरुरी छैन । तर वैज्ञानिक र स्तरीय वा एकद्धार कर प्रणाली भएका देशमा लगानी गर्दा करलाई पनि हेरेर लगानी योजना तयार गरिन्छ । कम्पनीको इक्वीटीमा भएको फेरबदललाई समेत अध्ययन गर्न उत्तम हुन्छ । त्यसैले यो पक्षमा पनि ध्यान जान जरुरी हुन्छ ।
६. लगानी मिश्रणः
लगानी गर्दा भविष्यको जोखिम न्यूनीकरण गर्नु मूल मन्त्र हो । त्यसैले लगानी विभिन्न क्षेत्रमा बाढ्नु पर्दछ, यसको लागि लगानी क्षेत्रको बिचमा विपरित सम्बन्ध भएमा एक लगानी क्षेत्रमा मूल्य कम हुदाँ अर्को क्षेत्रबाट आम्दानी प्राप्त हुन्छ । यसलाई नै मार्कोबिजले लगानी मिश्रण व्यवस्थापन (investment portfolio Management) भनेका थिए । जस्तै लगानी गर्दा विभिन्न कम्पनी, व्यवसायी क्षेत्र जस्तै बैङ्क, सेवा (होटेल), व्यपारिक, उद्योग (उत्पादन), कृषि, स्वास्थ्य, विद्युत, लगायत विभिन्न क्षेत्र पर्दछन् । त्यस्तै स्थिर आम्दानी दिने क्षेत्र जस्तै डिभेन्चर वा सरकारी बचत पत्र, ट्रेजरी विल्स आदि । अर्को जोखिम न्यून गर्न बीमा पोलिसी किन्ने पनि हो, आवश्यकत्ता अनुसार बीमा पनि किन्न पर्ने पनि हुन्छ । त्यसैले क्षेत्र अनुसार लगानी गर्न बाडेर जोखिम कम गर्न सकिन्छ । कसैको विषेश क्षेत्रमा लगानी प्राथमिकता क्षेत्र पनि हुन सक्दछ । त्यसैले उपलब्ध पूँजीलाई विभाजित गरेर लगानी गरिन्छ । यस अवस्थामा लगानीकत्र्ताको सोचलाई प्राथमिकता दिनु पर्दछ । लगानी मिश्रणको विषयमा छुट्टै चर्चा गरिनेछ ।
७. अन्यः
लगानी गर्नका लागि विभिन्न प्रकारका हुन सक्दछ । जस्तै वर्तमान आय, भावी लगानी योजना, भविष्यमा आई पर्न सक्ने, अन्य पारिवारिक आवश्यकत्ता आदि हुन् । माथिका साथै अन्य धेरै विषयमा पनि लगानी गर्दा हेर्न पर्ने हुन्छ ।
शेयर बजारमा लगानी भनेको विभिन्न पक्षमा ध्यान दिएर पूँजीको उपयुक्त ढङ्गले भावी आम्दानीको लागि परिचालन गर्ने विधि हो । यसरी विभिन्न पक्षमा सूक्ष्म रुपमा हेरेर लगानी गर्ने तथा त्यसको नियमित रुपमा मूल्याङ्कन समेत गर्नु पर्दछ । साथै समय अनुसार फेरबदल तथा मिलान पनि गर्न सख्त जरुरी हुन्छ । यसबाट जोखिम कम गरी तुलनात्मक रुपमा बढी प्रतिफल लिन सकिन्छ । त्यसैले लगानी गर्दाको अवस्थामा यी कुराहरुमा विचार गर्दा राम्रो होला ।



