नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था नेशनल माइक्रोफाइनान्सको ३ लाख कित्ता साधारण शेयर निष्काशन भएको छ । आइतबार (साउन १६ गते)बाट निष्काशन गरिएको शेयर छिटोमा साउन १९ र ढिलोमा साउन ३० गते बन्द हुने बताइएको छ । धादिङमा मुख्य कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात तीन लाख कित्ता सर्बसाधारणमा जारी गरेको हो ।
यस कम्पनीको न्युनत्तम ५० कित्ता र अधिकत्तम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । कम्पनीले जारी गर्नेमध्ये २७ हजार कित्ता शेयर कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याएको छ । सर्बसाधारणले ५० कित्ता देखि १० हजार कित्तासम्म प्रति कित्ताको एक सय रुपैयाँ बराबरको रकम बुझाई आबेदन गर्नसक्ने छन् । कम्पनीको बिक्री प्रबन्धक तथा निश्काशनकर्ताको रुपमा एनआईबीएल क्यापिटल रहेको छ ।



