Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरबजारमा लगानी गर्दा कम्पनीको अबस्था बुझेर गर्नुहोस्

२०७७ आश्विन १७ गते

नेपाली अर्थतन्त्रमा कोरोनाकहरकाबीच पनि पुँजीबजारको दायरा बढ्दै गएको छ । पुँजीबजारमा लगानी गर्नेहरुको संख्या र आकर्षण बढेको पाइन्छ । अन्य अर्थतन्त्रका सूचकहरु कमजोर हुँदा सेयर बजारमा आएको रौनकताले अर्थतन्त्रमा केही आशाका किरणहरु देखा परेको छ । पछिल्लोसमय सेयरबजारको बृद्धिसँगै सूचकको उकालो गति र विभिन्न कम्पनीहरुको आइपीओ पाइपलाइनमा रहेको अबस्थामा समग्र पुँजीबजार र लगानीका बारेमा पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीसँग बैंकिङ खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गर्दछौं ।

पछिल्लो समय सेयर बजारलाई धितोपत्र बोर्डले कसरी विश्लेषण गरेको छ ?
कोभिडको समयमा बजार लामो समयसम्म बन्द भयो । लामोसमयको बन्द पछि धितोपत्र बोर्ड, नेप्से र सिडियस मिलेर अनलाईन कारोबारको व्यवस्था गरियो । त्यसपछिको बजार कारोबारलाई हेर्ने हो भने लगानीकर्ताहरुको उत्साहजनक सहभागीता रहेको छ । बजार कहिले बढ्ने कहिले घट्ने भइरहेको छ औषतमा बजार क्रमश बढ्दै गइरहेको अबस्था छ । हामीले लगानीकर्ताहरुलाई जोखिमको स्तर र अर्थतन्त्र हेर्न अनुरोध गरीरहेका छौं । यसमा नेप्से सिडियस र धितोपत्र वोर्डले अहिलेको पूँजीबजारलाई सुक्ष्म रुपले अध्यायन गरिरहेका छौं ।

कोरोना संक्रमण माहामारीको अवस्थामा पनि सेयर प्रति आम नागरिकको चासो र सहभागिता बढेको देखिन्छ । यसले समग्र पूँजीबजारको क्षेत्रमा कस्तो संकेत देखाउँछ ?
दोस्रो बजार मात्र होइन प्राथमिक बजारको पनि सेयर निष्कासन भएको थियो त्यसमा पनि उत्साहजनक सहभागिता देखिएको छ । पहिला पहिला मानिसहरुसँग पूँजी छ भने बैंकमा राख्ने चलन थियो अहिले मानिसहरु बैंकमा राख्नु भन्दा पूँजीबजारतर्फ लगानी गर्न आकर्षित भइरहेका छन् । अहिले बैंकको व्याजदरहरु पनि कम रहेको छ । हामीले बैंकको व्याजदर र पूँजीबजारमा विपरित सम्बन्ध पाउछौ । जुन किसिमले दोस्रो बजारमा कारोवार बढिरहेको छ प्राथमिक बजारमा पनि उल्लेख्य सहभागिता रहेको छ । मानिसहरुमा पैसा बैंकमा राख्नुको सट्टा पूँजी बजारमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने धारणा बढ्दै गएको देखिन्छ । विगत ५।७ वर्षमा धेरै सहभागिता बढ्दै गएको छ । हामीले सि आस्वा सिष्टम ल्याएका छौं, त्यसले पूँजीबजारलाई आमुल परिवर्तन गरेको छ । मानिसहरुले ७७ जिल्ला जहाँबाट पनि सेयर भर्न पाउने भएका छन् । सकेसम्म सबैको सहभागीता सेयर बजारमा होस् भनेर १० कित्ताको निति ल्याएका हौं । यो नितिको धेरै विरोध भए पनि यसले अहिले मानिसहरुको पुँजी बजार तर्फ आकर्षण बढाउदै लगेको छ, भने यसले पुँजीबजारको दायरा पनि बढाएको छ । हामीले बुक विल्डीङ माध्यमबाट जुन सेयर निष्कासन गर्न पाउने व्यावस्था गरेका छौ यसले अहिले पब्लिकमा नगएका कम्पनीहरु पनि पब्लिकमा आउँछन् भन्ने विश्वास लिएका छौं । अहिले देखिएको पूँजीबजारको दायरा फराकिलो हुन्छ भन्ने हामीले विश्वास लिएका छांै ।

समग्र देशको अर्थतन्त्र संकुचित भएको अवस्थामा पनि नेप्से बढेको देखिन्छ, अर्थतन्त्र र नेप्से बीचको सम्बन्धलाई कसरी बुझ्नु पर्ला ?
मुख्य रुपमा पूँजीबजार भनेको अर्थतन्त्रको ऐना हो । हामीले लगानी गर्दा अर्थतन्त्र पनि हेर्नु पर्छ भन्ने सूचना दिइरहेका छौं । बजार बढ्नु वा घट्नु आफ्नो एउटा माध्यम हो । बढ्ने अथवा घट्ने माध्यममा पनि विभिन्न तत्वहरुले भूमिका खेलेको हुन्छ । अहिले देशको अर्थतन्त्र संकुचन भइरहेको अवस्थामा पूँजीबजार मात्र बढिरहेको छ । यस तर्फ पनि लगानी कर्ताहरुले ध्यान दिन जरुरी छ । मानिसहरुको अन्य व्यापार व्यावसाय नचलेको अवस्थामा अहिले लगानी गर्ने थलो पूँजीबजार बनेको छ । लगानीकर्ताहरुले जहिले पनि लगानी गर्दाखेरी आफुले लगानी गरेको संस्थाको अवस्था के छ ? भविष्यमा नाफा दिन सक्छ कि सक्दैन भनेर हेर्न जरुरी हुन्छ । हामी नियमन निकायले पनि लगानीकर्ताहरुले लगानी गर्दा जोखिम हेरेर लगानी गर्नु पर्छ भनिरहेका हुन्छौं । लगानीको विविध पक्ष हेर्ने क्रममा आम लगानीकर्ताहरुले अर्थतन्त्र पनि हेर्न जरुरी छ । कुन क्षेत्रमा लगानी गर्ने हो त्यस क्षेत्रको सेयरको अवस्था हेर्न जरुरी छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको जुन अवस्था छ त्यसले पनि पुँजीबजारलाई असर गरेको छ । अहिले बैंकहरुमा अधिक तरलताको अवस्था छ यस्तो अवस्थामा आम सर्वसाधारणले बैंक वित्तमा पैसा जम्मा गर्ने भन्दा पूँजीबजारतर्फ लगानी गरिरहेका छन् ।

बेला बेला नेपाल स्टक एक्चेन्जमा विभिन्न खालका समस्याहरु आउने गरेको छ, निजि स्तरमा नयाँ स्टक एक्चेन्जको माग पनि भइरहेको छ । यसमा धितोपत्र बोर्डको आधिकारिक धारणा के छ ?
यसमा धितोपत्र वोर्डको सञ्चालक समितिले एउटा सर्किट दिनसक्ने अधिकार रहेको छ । यो स्टक एक्सचेन्ज वोर्ड एक्लैले ल्याउने होइन । यसको लागि अर्थमन्त्रालयसँग पनि समंन्वय गरेर अगाडि बढ्नु पर्छ । अर्को स्टक एक्चेन्ज ल्याएको खण्डमा अहिलेको स्टक एक्सचेन्जलाई पनि फ्रिडम दिनुपर्छ । अहिलेको स्टक एक्सचेन्जलाई यहि अवस्थामा राखेर नयाँ स्टक एक्सचेन्ज ल्याउँदा बजारको माग पुरा नगर्न सक्छ भन्ने तर्फ पनि हामी सचेत छौं ।

नेपाल धितोपत्र वोर्डको आगामी योजनाहरु के कस्ता छन् ?
हामीले बजारको पहुँच बढाउनु पर्ने हो । बजारको पहुँच विस्तारका लागी विभिन्न मोडलहरु छन् । ब्रोकरको सङ्ख्या थपिरहेका छौं । नेप्से सिडियस सहितको अवस्था हेर्नुपर्ने भएकाले यसको विस्तारको लागी छलफलहरु भइरहेको छ । मानिसहरुलाई बजारमा कारोवार गर्दा कसैले बदमासी गर्यो भने नियमनकारी निकायले कारवाही गर्छ भन्ने आभाष भएमात्र बजारमा मानिसहरुले लगानी गर्छन् । यसले बजारको विस्तार भइरहेको छ भने बजारको निगरानी पनि बढाइरहेको छ । अहिले हामीले केही कारवाहीहरु अगाडी बढाईरहेको छौं । अबको ४ वर्षमा धितोपत्र बोर्डले गर्ने कामहरुको रणनीतिक योजना पनि बनाइरहेका छौं । यो योजनामा हामीले मुख्य रुपमा हाम्रो कानुनी सुधारहरु देखि लिएर हाम्रो बोर्डमात्र होइन बजारको पनि संरचना विकासमा जोड दिइरहेका छौं ।

जानेर वा नजानेर सेयर बजारमा लगानी गर्नेहरुलाई के कस्ता सुझावहरु दिनु हुन्छ ?
लगानी कहिले पनि जोखिम रहित हुँदैन । लगानी गर्दा अलिकति अध्ययनशील हुनु पर्छ । कुन कम्पनीमा लगानी गर्दै छु त्यसको अवस्था के छ भनेर हेर्न जरुरी छ । बजारको अवस्था नबुझि कहिलेकाँही लगानीकर्ताहरुले सबै भन्दा सस्तो सेयर किनेर लगानी गर्दा जोखिम धेरै हुन्छ । लगानी गर्दा त्यस क्षेत्रको व्यालेन्ससिटको बेसिक अवस्था हेर्न जरुरी छ । २, ३ वर्ष अगाडिदेखि उसले नाफा बढाउँदै लगेको छ कि छैन भनेर हेर्न जरुरी छ । पूँजीबजारमा लगानी गर्ने भनेको हाम्रो बचत परिचालन गर्नको लागि हो । यसबाट आम लगानीकर्ताले फाइदा चाहिरहेको हुन्छ सबैले यो क्षेत्रबाट नाफा चाहिरहेको हुन्छ । जसले पूँजीबजारको क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ उहाँहरुले लगानी गर्नु अगाडि सो क्षेत्रको बारेमा अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ ।

आम नागरिकलाई पूँजीबजार क्षेत्रमा सहभागिता बढाउनका लागि के गरिनु पर्ला, तपाईहरुको रणनीति कस्तो छ ?
यसका लागि कानुनी सुधार, प्राविधिक सुधार गरेर हामीले आम लगानीकर्ताहरुलाई आकर्षित गरीरहेका छौं । हामीले पूँजीबजारको शिक्षालाई पनि जोड दिँदै आइरहेका छांै । यस्तै, हामीले हाम्रो आई पि सिष्टमलाई सुधार गरेर ७७ जिल्लामा पुर्याएका छौं । त्यस्तैगरि नेप्सेमा आइरहेको समस्यालाई पनि हटाउँदै लैजाने तयारी गरिरहेका छांै । पूँजीबजारको फाइदा र जोखिमको बारेमा आम रुपमा चेतना फैलाइरहेका छौं ।

Ad