Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

दुई ठुला लघुवित्तको मर्जर संझौता : नामी लघुवित्तलाई पनि चुनौती

२०७७ भाद्र १ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरका दुइ लघुवित्तको मर्जर संझौताले लघुवित्त क्षेत्रमा ठुलो तरंग ल्याएको छ । हालै राष्ट्रिय स्तरका दुइ लघुवित्त एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले मर्जरमा जाने संझौता गरेका छन् । यसअघि विभिन्न लघुवित्तहरु मर्जरमा गइसकेका छन् भने कतिपय लघुवित्त मर्जरको तयारीका छन् । तथापी यो मर्जर सबैभन्दा ठुलो मर्जर देखिएको छ । मर्जरपछि स्वदेशी लघुवित्तको नाम भने रहने छैन ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।

गाभ्नेरगाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गर्नुभएको छ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।

गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।