कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले बोर्डले देहायका विषयहरुका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरिदिने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
- १. बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।
- २. शेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने ।
- ३. विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने ।
- ४. बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार (ःबचनष्ल त्चबमष्लन) का लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने कर्जाको व्याजदर भन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने ।


