बैंकिङ खबर । बैंकवित्तहरु भर्खर राम्ररी अग्रसर हुँदै थिए । सेवाका हिसावबाट, वित्तीय सन्तुलनका हिसावबाट, खराब कर्जा कम हुँदै गएको अबस्स्थाबाट, कम्जोर बैंकवित्तहरु अरुमा गाभिँदै जाँदा नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय स्थायीत्वतिर अघि बढ्दै थियो । जब कोरोना संक्रमण विश्वभरी फैलीयो र कोरोना संक्रमणबाट जोगाउनका लागि राज्यले लकडाउनको घोषणा गर्यो यसले बैंकवित्त क्षेत्रलाई अस्थीरतातर्फ धकेल्ने निश्चित देखाएको छ । जागिरका कारण, नाफा आर्जनका कारण समेत राम्रो क्षेत्रका रुपमा स्थापीत बैंकिङ क्षेत्रमा कर्जा जोखिम बढ्ने अबस्था छ । खर्च कम गर्नका लागि डिजिटल कार्यलाई फोकस गर्दै बैंकवित्तहरु केही न केही कर्मचारी कटौतीको तयारीमै छन् । तर सरकारले कत्तिबेला कस्तो नीति ल्याउने हो भन्नेबारे राष्ट्र बैंकलाई समेत थाहा हुँदैन बैंकरहरु त अन्यौलतामा रहन्छन् नै । सिमित शाखाबाट सेवा संचालन गर्न, ३३ प्रतिशत मात्रै कर्मचारी परिचालन गरेर सेवा दिन तथा विहान ८ बजेदेखि वेलुका ६ बजेसम्म सेवा दिन र विदाका समयमा पनि सेवा दिन भन्ने जस्ता निर्देशनहरु मन्त्रीपरिषदकै बैठकबाट भए । बैंकवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंक स्वयत्त भएको सरकारी संस्था हो । जहाँ गभर्नर नियुक्तिको विषय बाहेक सरकार मौन रहन्छ । तर अर्थमन्त्री डा. युवराज खतिवडा पहिलाका गभर्नर पनि हुन् । उनले राष्ट्र बैंकलाई आफैले प्रत्यक्ष रुपमा संचालन गरेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर, डेपुटी गभर्नर तथा कार्यकारी निर्देशकहरु अर्थमन्त्रीको निर्देशनमा काम गर्छन् । जसले गर्दा राष्ट्र बैंक आफैमा कम्जोर हुँदै गएको छ । यसको स्वयत्तताको विषय पनि उत्तिकै रुपमा कम्जोर हुँदै छ । पछिल्लो समयका सरकारी निर्णयहरु हेर्ने हो भने सिंगो मन्त्रीपरिषद, प्रधानमन्त्री र अर्थमन्त्रीले बैंकलाई कसरी चलाउने भनेर अभ्यास गर्दै गएको देखिन्छ । जहाँ लामो समयदेखि विज्ञता पाएका र सम्बन्धित विषयमा काम गरेका राष्ट्र बैंकका कर्मचारी तथा बैंकहरुहरुलाई बैंकिङ नीति बनाउँदा सरकारले सोध्ने समेत इच्छा राखेको पाईदैन । यसले गर्दा बैंक वित्तीय क्षेत्र थप अस्थीरतातर्फ धकेलीने देखिन्छ ।
विहानै ८ बजेबाट साँझ ६ बजेसम्म बैंक खोल्नु
बैंक तथा वित्तीय संस्थाले अब २ सिफ्टमा कर्मचारी परिचालन गरेर विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिन मन्त्रीपरिषदले नै निर्णय गर्यो । हालै बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । उक्त निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री समेत रहेका सुचना सञ्चार तथा प्रविधि मन्त्री डा।युवराज खतिवडाले कर्मचारीलाई बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्मको गरी दुई सिफ्टमा काम लगाउनुु पर्ने बताए । उनले चालु आर्थिक वर्ष अन्तिम अबस्थामा रहेका कारण कर्मचारीले दुई सिफ्टमा काम गर्नुपर्ने उल्लेख गरे । अब लकडाउनमा पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा सहकारी संस्थाहरुले दुई सिफ्टमै काम गर्नेछन् । वित्तीय सेवा अत्यावश्यक सेवा अन्तर्गत राखिएको छ ।