२०७७ जेष्ठ २८ गते

स्वरोजगार सिर्जनामा लघुवित्त

सागर अर्याल-

“हेलो सर, नमस्कार । म सृजनशील महिला विकास केन्द्रको केन्द्र प्रमुख मिना बोल्दैछु । समूहका दिदी बहिनीहरुले कर्जा चाहियो भन्नु भएको छ, के गर्ने सर, हुन्छ कि हुँदैन ?”

मिना दिदीको एकोहोरो त्यो फोन वार्ताले म केही बोल्नै सकिन । मैले सामान्य दैनिकीका कुराहरु गरें, स्वास्थ्य सावधानीका कुराहरु गरें र सामाजिक दुरी कायम गर्न सुझाव दिंदै अब सायद छिटै सहज अवस्था आउला भन्ने अपेक्षा सहित फोन छोट्याँए ।

फोन राखी सकेपछि, मैले किन दिदीलाई स्पष्ट र ठोस जवाफ दिन सकिन भन्ने कुराले पिरोली रह्यो । आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टी, थप १ जनाको क्वारेन्टीनमा मृत्यु आदि जस्ता वाक्यहरु पढ्नु र सुन्नु आजको दैनिकी हो । यो पंक्ति लेख्दै गर्दा सम्म नेपालमा मात्र संक्रमितको संख्या करिव ४,१००पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या १५पुगिसकेको छ । देश पूर्णतया बन्दाबन्दीको अवस्थामा छ भने अर्थव्यवस्था निश्क्रिय छ । विश्वकै ठूलो अर्थतन्त्र भएको भनिएका मुलुकहरु अमेरिका, चिन, इटाली, जर्मनी, स्पेन जस्ता मूलुकको अर्थतन्त्र कमजोर हुदै गएको र ती देशहरु कोरोनासँग ठूलो मूल्य चुकाउँदै लडी रहेका छन् । कोरोना कहरले विश्वका लगभग सबै देशको स्वास्थ्य र अर्थतन्त्रका धेरै क्षेत्रहरुलाई असर पारेको छ । विश्वले सोच्दै नसोचेको समयबाट अहिले सबै गुज्रीरहेका छौं । अहिले नेपालमा पनि हरेक क्षेत्रहरु नराम्रोसंग प्रभावित भएको छ । अकल्पनीय यस कोरोना भाईरसको महामारीको कारणले मिना दिदी जस्ता लाखौं लघु उद्यमी र व्यवसायीहरु लगायत सेवा प्रदायक संस्थाहरुको कार्यक्रम विस्तार, कर्जा लगानी ,असूली, कर्मचारी व्यवस्थापनमा समेत नराम्रोसंग प्रभावित भएको छ ।

सामान्य रुपमा बुझ्दा लघुवित्तले विपन्न, बेरोजगार, न्यून आय भएका व्यक्ति वा समूहहरुलाई आफ्नो दैनिकीबाट माथि उठाएर ब्यवसायिक, आर्थिक रुपमा स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि बंैकिङ्ग प्रणालीमा गरिने सम्पूर्ण कार्यहरुलाई समेट्छ । राष्ट्रिय लघुवित्त नीति, २०६४ अनुसार “लघुवित्त भन्नाले लघुबचत, लघुकर्जा बीमा÷लघुकर्जा सुरक्षण तथा बिप्रेषण जस्ता माध्यमबाट विपन्न वर्गका समुदायलाई स्वरोजगारमा अवसरहरु दिलाई तिनीहरुको उद्यमशीलताको विकास गरी आयआर्जन क्रियाकलापमा संलग्न गराउन सहयोग पुर्याउने वित्तीय सेवालाई जनाउँदछ ।” नेपालका जनताहरुलाई गरिविको रेखाबाट माथि उठाउन लघुवित्तले पनि महत्वपूर्ण भूमिका खेलेको छ । लघुवित्तको विगतलाई हेर्दा सन् १९७६ मा मोहमद युनुसले बंगलादेशबाट सुरु गरेको लघुवित्त प्रणाली नेपालमा वि.सं. २०४९ बाट निर्धन र स्वाबलम्बनले शुरु गरे भने त्यस लगत्तै छिमेक समाज, डिप्रोक्स नेपाल जस्ता गैर सरकारी संस्था र सरकारी पहलमातत्कालिन पूर्वाञ्चल ग्रामीण विकास बैंक र सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंक (हाल पाँचै विकास क्षेत्रमा रहेका ग्रामीण विकास बैंकहरु गाभिई नेपाल ग्रामीण लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालित छ ।) को स्थापना भयो । लघुवित्त संस्थाहरु ग्रामीण समुदायका नागरिकहरुको काठे मुदुस (काठले बनेको एक किसिमको बाकस, जहाँ बहुमूल्य वस्तुहरु राखिन्थ्यो) बनेका छन् । उनीहरुले आफूलाई बढी हँुदा त्यही मुदुसमा पैसा राख्ने गर्छन् र चाहिँदा त्यहीबाट झिकेर काम चलाउने गरिन्छ । अहिले कोरोनाको कहरले मुदुस चुहिएको छ, रित्तिन थालेको छ ।

जीवन्त संस्थाहरुमा कर्मचारीलाई संस्थाको मेरुदण्डको रुपमा लिईन्छ । लघुवित्त गतिशील लघु बैकिंङ प्रणाली पनि हो । पुरानो भनाई सम्झने हो भने, लघुवित्त कार्यक्रममा कर्मचारीले बैंकलाई झोलामा बोकेर समुदायमा गई विपन्न वर्गलाई सेवा दिने गर्दछन् । कोरोना संक्रमण जति धैरै फैलिएपनि सधै भरी बन्दाबन्दीले देश, समाज, संस्था र व्यक्ती चल्न सक्दैन । कुनै पनि हालतमा देश, समाज, संस्था र व्यक्ति सामान्य अवस्थामा फर्कनै पर्छ र फर्कन्छ पनि । संस्थालाई फेरि पनि एउटा गतिमा डो¥याउनै पर्छ । लघुवित्त क्षेत्रलाई फेरि विपन्न वर्गको बैंकको रुपमा प्रमाणित गर्ने दायित्व हाम्रो काँधमा आएको छ । अहिले समस्या सबै तिर छ । समस्याको नाममा ग्राहक र कर्मचारीको मनोबल नगिराई, मनोबल बढाउने दायीत्व सरोकारवालाहरुको हो र यो आजको आवश्यकता पनि हो । यदि लघुवित्त क्षेत्रको दक्ष जनशक्तिलाई समस्याको निहँुमा घर फर्काउने हो भने भोलि सामान्य अवस्थामा जनजीवनमा फर्किए पछि संस्थाहरुको कार्यक्रम विस्तार र अन्य विभिन्न पक्षमा त्यसको नकारात्मक प्रभाव पर्ने निश्चित देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको २०७६ चैत्र अन्त्य सम्मको तथ्याङकलाई हेर्ने हो भने ९० ओटा लघुवित्त संस्थाले ४५ लाख ८० हजार भन्दा बढी नागरिकहरुलाई प्रत्यक्ष लघु बैंकिङ सेवा दिईरहेको देखिन्छ । कुल सदस्यको करिव ६१ प्रतिशत अर्थात २८ लाख ३ हजारले ऋण लिई कारोबार गरेको देखिन्छ । यी संस्थाहरुले रु. २ खर्व ५६ अरब ३० करोड उठाउन बाँकी कर्जा छ भने रु. ९८ अरब ७५ करोड निक्षेप संकलन गरेको छ । सामान्यतया लघुवित्तको काम कार्यालयमा कम तर समुदायमा बढी हुने गर्दछ । २०७६ चैत्र ११ गते देखि हाल सम्म जारी रहेको बन्दाबन्दीको कारणले लघुवित्त वित्तीय संस्थाले कर्जा लगानी, समूह निर्माण, सदस्य थप र निक्षेप संकलन साथै अन्य सामाजिक कार्य जस्ता नियमित कार्यक्रमलाई थप विस्तार गर्न सकेका छैनन् । सदस्यहरुको दोहोरोपनाबाट समस्या भोगीरहेको लघुवित्त क्षेत्रले बन्दाबन्दीको कारण २०७६ चैत्र ११ गतेबाट अघि बढ्न निकै अप्ठ्यारो भईरहेको छ ।

सबैभन्दा बढी प्रभाव कर्जाको लगानी तथा असुली प्रक्रियामा परेको छ । बन्दाबन्दीको कारण सदस्यहरुको आम्दानीमा आएको गिरावट, कर्मचारीहरु सहज रुपमा कार्यालय बाहिर निस्कन नसक्ने अवस्था र सदस्यहरु कार्यालय सम्म आएर कर्जाको किस्ता तिर्न सक्ने अवस्था नहुनुले असुली प्रक्रिया प्राय ठप्प छ । बन्दाबन्दीको असरको कारणले नेपाल राष्ट्र बैंकले पनि मिति २०७७।०१।१६ मा परिपत्र जारी गर्दै “२०७७ बैशाख तथा जेठ महिनामा असुल हुनुपर्ने मासिक÷त्रैमासीक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ” भन्ने निर्देशन जारी गरेको छ । कोरोना भाईरसको महामारीले कुन रुप लिन्छ ? अझै स्पष्ट नभएको र संक्रमण थप फैलनुले असुली प्रक्रिया कहिले देखि र कसरी भन्ने अन्यौल लघुवित्त क्षेत्रमा रहेको छ ।
लामो समय सम्मको बन्दाबन्दी पश्चात पुनः हाम्रो सदस्यहरुको मुहारमा खुशी आउनेमा म ढुक्क छु । मीना दिदीको प्रश्नको जवाफ अब सहजै दिन सक्नेछु । उहाँहरुको आवश्यकता र समस्यामा मलहमपट्टी बन्ने सक्ने छौं । किन भने अब बन्दाबन्दीको मोडेल सायद फेरिने छ, संस्थाहरुले आआफ्नो सदस्यहरुको लागि विभिन्न प्रकारका राहतका योजनाहरु ल्याउनु हुनेछ । अब परिस्थितिलाई सावधानीपूर्वक स्वीकार गर्दै अघि बढ्ने छौं ।

मेरो नजर त अब त्यहाँ पुगीसकेको छ । अबको १÷२ महिनामा हाल सम्मविदेशी भूमीमा बगाएका ती पसिनालाई सीतलता दिन आफ्नै मातृभूमी फर्कदै गरेका युवा जमातलाई स्वदेशमा स्वागत गर्दैछौं । यसलाई हामी संकट र समस्याको रुपमा होईन, अवशरको रुपमा बदल्न सक्नु पर्दछ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको सूचना अनुसार करिव ५ लाख नेपाली स्वदेश फर्कने जानकारी आएको छ । भोलिका दिनमा हामी तिनै युवाहरुलाई लघुवित्त सेवा मार्फत स्वरोजगारी सिर्जना, लघु उद्यमको विकास र देशलाई आत्मनिर्भर बनाउने हाम्रो सपनाको सुरुवात गर्न सकिन्छ ।

यसरी भोलिको लागि चर्चा गर्दै गर्दा सोचे जस्तो सजिलो पनि नहोला । तर, नेपालको परिप्रेक्ष्यमा दुर दराजमा रहेका हरेक नागरिकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने भनेको लघुवित्त वित्तीय संस्थाहरु नै हुन् । तर कहिले काँही यही पवित्र वित्तीय संस्थाको खिलाफमा नकारात्मक टिका टिप्पणी गर्ने गरिन्छ । कहिँ कतै कमी कमजोरी हुन सक्छन्, तर ती सजिलै सुधार गर्न सकिन्छ । तर धेरैमा भ्रमयुक्त सोच रहेको पनि देखिन्छ । हामी त्यस्ता समुदाय अनि युवाहरुलाई विशेष प्राथमिकतामा राखेर हाम्रो सेवा विस्तार गर्छांै जो केही गर्नको जांगर र आँट छ । पूँजीको अभाव लघुवित्त संस्थाहरुले पुरा गर्न सक्नेछन् । वास्तवमै लघुवित्त क्षेत्रले देशको आर्थिक विकासमा ठूलो टेवा पु¥याईरहेको छ, यसलाई विशेष प्राथमिकताका साथ हेरिनु पर्दछ । प्रत्येक स्थानीय निकायको समन्वय तथा सहजीकरणमा अब स्वदेशका ती युवाहरुलाई फेरी झोला बोकी बिदेशिनु पर्ने बाध्यता नआहोस । त्यसको लागी आजैबाट हामीले आफ्नो तर्फबाट भूमिका खेल्नु पर्दछ । फलस्वरुप केही वर्षमा नेपालको लघुवित्त क्षेत्रलाई हामीले गर्वको साथ सबैको सामु सकारात्मक परिणाममूखी प्रभाव देखाउन सक्ने अवस्था आउनेछ ।

(लेखक हाल मुक्तिनाथ विकास बैंक लि.मा कार्यरत हुनुहुन्छ ।)