बैंकिङ खबर । बैंकको ऋणको ब्याजका बारेमा नीजि क्षेत्रले धेरै माग गर्ने र बैंकहरुले नदिने अबस्था आएपछि समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघर बैंकर्स संघबीच कार्यदल बनाइएको छ । कार्यदलमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, सानिमा बैंकका जोखिम व्यबस्थापन प्रमुख निश्चल पाण्डे र बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा छन् । महासंघका तर्फबाट बैंकिङ समितिका सभापति सौरभ ज्योति सहित थप २ सदस्यीय थप गर्ने बताइएको छ । दुवै पक्षले संयुक्त रुपमा अध्ययन गरी समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो । कार्यदलले आवश्यक सुझाव तयार पार्ने र व्याजदर बारे छलफल गर्ने छ । कोरोनाबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रमा परेको प्रभाव तथा चुनौतीका सम्बन्धमा दुबै पक्षबीच छलफल भई कार्यदल बनाइएको बैंकर्स संघले जनाएको छ । एकजुट भएर सहमतिका आधारमा अघि बढ्न कार्यदलले सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । बैंकको ऋणको ब्याज घटाउने सम्बन्धमा सहमति बनाउने विषयलाई कार्यदलले फोकस गर्ने छ । महासंघले ५ प्रतिशत व्याज घटाउन अनुरोध गर्दै आएको छ भने बैंकिङ क्षेत्र राष्ट्र बैंकले दिएको निर्देशन अनुसार २ प्रतिशत पनि घटाउन अस्वीकार गर्दै आएको छ ।
