बैंकिङ खबर / लगातार ओरालो लागेको शेयर बजारमा १२ कारोबार दिनपछि हरियाली फर्किएको छ। भदौ ४ गतेपछि निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भदौ १६ गते भने बढेर बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर २ हजार ५२२ दशमलव ४६ विन्दुमा पुगेको छ। यसअघि भदौ ४ गते बजार बढेको थियो। त्यसयता खुलेका सबै कारोबार दिनमा नेप्से परिसूचक घट्दै आएको थियो।बजार बढेको दिन १८२ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ। कुल ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर कारोबार भएका छन्।नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। मंगलबार कुल २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा तल सीमित भएको हो ।
सोलु हाइड्रोको सर्वाधिक कारोबार
आज कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको १० करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
माथिल्लो मैलुङ खोलाका लगानीकर्ता सर्वाधिक नाफामा
आजको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ७ दशमलव १५ प्रतिशतले बढेको छ।त्यस्तै, एमबीएल इक्विटी फन्डका इकाईधनीले ५ दशमलव ८८ प्रतिशत तथा इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।
उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक घाटामा
यता, आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। कम्पनीको शेयर मूल्य ८ दशमलव ४८ प्रतिशतले घटेको छ।लामो समयदेखि निरन्तर दबाबमा रहेको शेयर बजार १२ कारोबार दिनपछि बढेर बन्द भए पनि कारोबार रकम भने अपेक्षाकृत कमजोर देखिएको छ। बजार परिसूचकमा सुधार आए पनि लगानीकर्ताको कारोबार सहभागिता भने अझै बलियो बन्न नसकेको देखिन्छ ।