Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

रेमिट्यान्सले धानेको अर्थतन्त्र र लकडाउनले थिचिएको रेमिट्यान्स

२०७७ बैशाख २६ गते

अपेक्षा ढुंगाना । बैंकिङ खबर । रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा रहेको छ । शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र अर्थतन्त्रको दरीलो खम्बाका रुपमा रेमिट्यान्सलाई लिन सकिन्छ । निर्यात, पर्यटन क्षेत्र जस्ता बाह्रय क्षेत्रबाट आउन सक्ने सुधारको पनि अपेक्षा गरे अनुरुप विकास हुन नसक्दा विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स मात्र बन्न पुगेको छ । रेमिट्यान्स मार्फत भित्रिने रकम बढी मात्रामा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएतापनि यसले स्वास्थ्य, शिक्षा लगायत घर र देशको अर्थतन्त्र उकास्न समेत योगदान दिदै आएको छ । तर हालको विश्वव्यापी कोरोना माहामारीको कारणले गर्दा त्यसको प्रत्यक्ष असर रेमिट्यान्सबाटै अर्थतन्त्र धानीएकोे नेपालजस्तो कम विकशित मुलुकमा पर्ने देखिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा समेत असर पर्न गई आम्दानी कम हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । त्यसमाथि कोरोना भाइरसकै कारण वैदेशिक रोजगारिमा जानेको संख्या कम हुने हुँदा रेमिट्यान्स क्षेत्रमा ठुलै प्रभाव पर्ने देखिन्छ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने केन्द्रीय तथ्यांक विभागले देखाएको छ । यस बेला नेपाली परिवारको घर धान्ने सहारा रेमिट्यान्समा ठूलो धक्का लागेको छ, यसरी रेमिट्यान्स कम आउने हो भने नेपाली अर्थतन्त्रमा थप समस्या सिर्जना हुने देखिन्छ ।

रेमिट्यान्सको खतरा पनि

 देशको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको रेमिट्यान्स लकडाउनको अवधिमा ५० प्रतिशतले कमि आएको छ । यो रिपोर्टले अर्थतन्त्रमा नराम्रो धक्का पर्ने संकेत देखाएको छ । नेपाली श्रमजीवि वर्गहरु कार्यरत विदेशका धेरै व्यापार व्यबसाय बन्द हुँदा यो अबस्था निम्तिएको छ । चैत महिनाको रिपोर्टलाई हेर्दा बैशाख पछिका महिनाहरुमा यो स्थिति अझ बढ्ने अनुमान छ । चैत पहिलो सातासम्म विदेश र नेपालको बजार खुल्ला अबस्थामा रहेको थियो । चैत पहिलो साताबाट अधिकाँस देशहरुमा लकडाउन घोषणा गरियो । फलस्वरुप विदेशमा रहेका नेपालीहरु बेरोजगार हुनुपरेको, काममा जान नपाएको तथा विदेश जान ठिक्क परेकाहरु जान नपाएका मुख्य कारणहरु हुन् ।

लकडाउन अवधि सकिएपछि कतिपय विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुमान गरिएको छ । जसले रेमिट्यान्स क्षेत्रमा थप धक्का लाग्ने देखिएको छ । चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । यसअघि केन्द्रीय तथ्यांक विभागले रेमिट्यान्स साढे १८ प्रतिशतले र विश्व बैंकले १४ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए । तर प्रक्षेपणहरु लकडाउनको समयअवधि लम्बिएसँगै परिबर्तन हुँदै जाने देखिएका छन् । गत पुस महिनामा चाइनाबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । जसले गर्दा विश्व अर्थतन्त्र नै नराम्रो भूमरिमा परेको छ । फागुन महिनाको तुलनामा चैतमा रेमिट्यान्स आप्रवाह करिब ५० प्रतिशतले घटेको प्रक्षेपण गरिएको छ । फागुन महिनामा ७९ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा ३९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । बैशाख २३ गते संसदको अर्थसमितिमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विश्वभर करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको र चैत महिनामा फागुनको तुलतामा ५० प्रतिशत रेमिट्यान्स घटेको विवरण प्रस्तुत गरे । उनले चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने प्रक्षेपण सुनाए । चालु आर्थिक बर्ष सकिन करिव ७० दिन बाँकी छ । असार मसान्तमा चालु आर्थिक बर्ष सकिन्छ । साउन १ गतेबाट नयाँ आर्थिक बर्ष सुरु हुने छ ।

गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । आगामी दिनमा भारतबाट आउने रेमिट्यान्स र अप्रत्यक्ष रकम पनि घट्ने देखिन्छ । भारत जानेहरु कतीपयले नगद नै लिएर आउने र हुण्डीको माध्यमबाट पनि पठाउने गरेका छन् । त्यसो त आधिकारीक रेमिट्यान्स भन्दा बाहिरबाट पनि उत्तिकै रकम भित्रिने गरेको छ । जुन तथ्याङक राष्ट्र बैंकसमक्ष छैन । नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुकमा पर्दछ । यसले गर्दा अर्थतन्त्रमा रेमट्यान्सको महत्वपूर्ण भूमिका रहन्छ ।