Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

‘बैंकहरुले नियम अनुसार सूचना दिएर, व्याज छुट गरेर किस्ता काटेका छन्’

२०७७ बैशाख ६ गते

मनोज ज्ञवाली, बैंकर  / खासमा कतिपय मानिसहरुले कुरा नबुझेर वा उहाँहरुको किस्ता तिर्ने खाता र चलाउने खाता एउटै भएर त्यस्तो गुनासाहरु आएका हुन सक्छन् । अन्यथा बैंकहरुले किस्ता काटेर गल्ती गरे भन्न मिल्दैन । यो नियम र सिष्टमको कुरा हुन आउँछ । ऋणीहरुको ऋण तिर्ने खातामा रकम छ भने त्रैमासिकको अन्त्यमा अटोमेटिक रुपमा किस्ता कट्टी हुने बैंकको सिस्टम हुन्छ । यस्तो अवस्थामा कि त मेरो किस्ता म पछि तिर्छु किन काटिदिनु भयो भनेर गुनासो आयो भने बैंकले सो रकम खातामा फिर्ता गरिदिन्छ । नत्र, राष्ट्र बैंकले किस्ता लिनै नहुने भनेको छैन । चैत्र भित्र किस्ता तिर्न आएका तोकिएअनुरुप व्याजमा १० प्रतिशत छुट दिनुपर्ने भनिएको छ । सो अनुसार तिर्न खोज्नेहरुको किस्ता छुटको रकम खातामा हालिदिएर लिन पाउँछन् ।

राष्ट्र बैंकले कर्जाको किस्ता लिँदै नलिउ, असुल नै नगर भनेको छैन । असुल गर्ने अवस्था आयो भने व्याजमा १० प्रतिशत छुट पनि देउ भनेको छ । यसको मतलब, कर्जाको किस्ता चुक्ता गर्नुपर्छ, समयमा नै गर्यो भने छुट पाइन्छ, तर, समयमा सकेन भने पनि असुली प्रक्रियामा जाने, कालो सूचिमा राख्ने वा कर्जा सूचना केन्द्रमा जानकारी गराउने गर्नुहुँदैन भनिएको हो ।

ऋणीको खातामा रकम छ, उ तिर्न सक्ने अवस्था छ वा बैंकमै आएर तिर्न खोजिरहेको छ भने व्याजमा १० प्रतिशत छुटको रकम खातामा हालिदिएर बैंकले कर्जाको किस्ता रकम असुली गर्न सक्ने व्यवस्था छ । यसरी बैंकले नियमानुसार नै खातामा भएको रकम कट्टी गर्दा बैंकले बदमासी गर्यो भन्ने कुरा हुँदैन ।

बैंकहरुले यस विषयमाकर्जा ग्राहकलाई सूचित नगरेका पनि हैनन् । राष्ट्र बैंकले गत चैत्र १६ मा सर्कुलर जारी गरेपछि बैंकहरुले आआफ्ना ग्राहकलाई एसएमएस लगायतका माध्यमबाट यस विषयमा सूचित गराएका छन् । हाम्रै बैंकको कुरा गर्ने हो भने पनि हाम्रो २४ हजार ग्राहक रहेका छन् । हामीले सबै कर्जा ग्राहकलाई असार मसान्तसम्ममा चुक्ता गर्न पाइने व्यवस्था गरिएको छ, चैत्रमा नै तिर्नुहुन्छ भने पनि १० प्रतिशत छुट पाइन्छ भनेर एसएमएस मार्फत जानकारी गराएका थियौँ ।

कर्जा ग्राहक हरुमध्ये, कसैले कर्जा चुक्ता गर्ने खातामा रकम राख्नुभयो कसैको पहिले नै खातामा रकम थियो भने यसरी राखिएको पैसा ईएमआई अनुसार सिस्टमले नै हरेक त्रैमासिकमा रकम कट्टा गर्दै जान्छ । पैसा भएकोहरुसँगबाट बैंकहरुले किस्ता तानिरहेका छन् र तान्नुपर्ने नियम नै हो । यसरी किस्ता तान्दा तोकिएको छुट दिएनन् भने मात्रै बैंकले बदमासी गरेको ठहर्छ । हैन भने बैंकहरुले नियमानुसार नै कार्य गरिरहेका छन् ।

खातामा भएको रकम असुल नगर भनेर राष्ट्र बैंकले भनेको छैन । यस विषयमा नबुझेर गुनासो गर्नेहरुहरुका लागि सर्कुलरले भन्न खोजेको कुरा स्पष्ट रुपमा बुझाउनुपर्छ । यस विषयमा बैंकमा गुनासो आयो भने हामी बुझाउनेछौँ । (डेभलपमेन्ट बैंकर्स एसोसिएसनका महासचिव समेत रहेका ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)