२०७६ चैत्र २८ गते

नेपालमा विप्रेषणको प्रवृत्ति र प्रभाव

-सुशील भट्टराई

बिषय प्रबेश :
एउटा मुलुकको वासिन्दाले अर्को मुलुमागई आय आर्जन गरि आफ्नो मुलुमा पठाएको रकमलाई विप्रेषण भनिन्छ । अन्तराष्ट्रिय मुद्रा कोषको शोधानान्तर निर्देशीकाको छैटौ संस्करण अनुसार कुल विप्रेषणले व्यक्तिगत विप्रेषण र सामाजिक लाभलाई समेटेको छ । व्यक्तिगत विप्रेषणलाई नगद वा जिन्सीमा हुने व्यक्तिगत ट्रान्सफर, कर, सामाजिक योगदान, यातयात र यात्रा घटाई सकेपछिको कर्मचारी पारिश्रमिक र घर परिवार बिच हुने पुँजीगत ट्रान्सफरको योगका रुपमा परिभाषीत गरिएको छ । त्यसै गरि सामाजिक लाभले सामाजिक सुरक्षाकोष र पेन्सनकोषबाट भुक्तानी हुने रकमलाई वुझाउँदछ । बैदेशीक रोजगारमा गएका श्रमीकले त्यहा आयआर्जन गरि स्वदेशमा पठाएको वा रकमान्तरण गरिएको आय नै विप्रेषण हो । औपचारीक र अनौपचारीक गरि दुई माध्यमबाट मुलुकमा विप्रेषण भित्रिने गरेको पाईन्छ । वित्तीय प्रणालीमा अभिलेख हुने गरि बैंक तथा वित्तीय संस्था वा अनुमति प्राप्त मनि ट्रान्सफर एजेन्सीहरु विप्रेषण आप्रवाहका औपचारीक माध्यम हुन् भने त्यसै गरि अनौपचारीक निकायमा अभिलेख नहुने गरि कामदारहरुले आफ्नो कमाई आफै लिएर आउने, आफन्त तथा साँथीभाईहरुसँग पठाउने, हुण्डी मार्फत रकम पठाउने आदि अनौपचारीक माध्यम हुन् ।

नेपालको वाह्य क्षेत्रको सन्तुलनको प्रमुख आधारको रुपमा विप्रेषण आप्रवाह रहदै आएको छ । विगत दश वर्षमा विप्रेषण आप्रवाहको कुल ग्रार्हस्थ्य उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको छ । नेपालको गरिवि न्युनीकरण लगायत सामाजिक एवम् मानव विकास सुचकाङ्गमा भएका उल्लेख्य सुधारमा समेत विप्रेषणको महत्वपुर्ण योगदान रहेको पाईन्छ । त्यसैगरि विप्रषणले नेपालको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक, आर्थिक सुधार एवम् वाह्य क्षेत्र सन्तुलनमा पुर्याएको योगदान प्रंशसनीय नै छ ।

विप्रेषणको प्रवृति :

नेपालमा विपे्रषणको प्रवृतिलाई दुष्टिगत गर्दा आ व २०५७/५८ मा ४७ अर्व विप्रेषण आप्रवाह भएमा आ व २०७५/०७६ मा ८७९ अर्व पुगेको छ । बैदेशीक रोजगारीका लागी नेपालले विश्वका ११० मुलुक खुला गरेको छ ।कुल गार्हस्थ्य उत्पादनको रुपमा हेर्दा आ व २०५७/०५८ मा १०.७ प्रतिशत रहेकोमा आ व २०७५/७६ मा २५.४ प्रतिशत पुगेको छ । विप्रेषणलाई कुल ग्रार्हस्थ्य उत्पादन व्यक्त गर्दा नेपाल विश्वको उच्च विप्रेषणमा आपवाह हुने पाँच मुलुक भित्र पर्दछ । नेपालको विगत केहि बर्षको विप्रेषणको प्रवृति निम्न तालिकाबाट प्रष्ट पार्न सकिन्छ ।

विप्रेषणको प्रभाव
विप्रेषणकोे आप्रवाहले नेपालको अर्थतन्त्रमा प्रभाव पार्दै आएको छ । विप्रेषणको आप्रवाहमा भएको वृद्धिले आर्थिक रुपमा विपन्न, रोजगारीका समस्यावाट उम्कनका लागी सार्थक हुदै आएको छ । बिप्रषणले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव निम्न अनुसार व्यक्त गर्न सकिन्छ ।
सकारात्मक प्रभाव
१. कुल गार्हस्थ्य उत्पादनमा योगदान : आ व २०५७/५८ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनको अनुपात १०.७ प्रतिशत रहेकोमा आ व २०७५/७६ मा २५.४ प्रतिशत पुगेको छ । नेपाललाई अन्तराष्ट्रिय दातृ निकाय तथा नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाहका भएकाले हालको अवस्थामा विप्रेषण नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधारको रुपमा रहेको छ ।

२. गरिवि न्युनिकरणमा प्रभाव : विप्रेषणले परिवारको आम्दानी वृद्धि गरिवीको न्युनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । आ व २०६०/६१ मा गरिवीको रेखामुनि रहेको जनसंख्य ३०.९ प्रतिशत रहेकोमा आ व २०७४/७५ मा १८.७ पुग्नुमा विप्रेषण नै मुख्य आधार हो ।

३. बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा प्रभाव :  आ व २०६५/६६ मा निक्षेप र निजी क्षेत्रको प्रवाहित कर्जाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमश ५५.७ प्रतिशत र ४४.४ प्रतिशत रहेमा आ व २०७५/७६ मा यी अनुपात क्रमश ९३.४ प्रतिशत र ८४ प्रतिशत पुगेको छ । बिगत दश बर्षमा विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण वित्तीय साधन परिचालनको दायरा समेत विस्तार भएको छ ।

४. शोधनान्तर स्थिती र विदेशी विनिमय सञ्चितिमा प्रभाव : वढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्वपुर्ण स्रोत विप्रेषणले शोधनान्तर स्थिीती र विदेशी विनिमय सञ्चितीमा टेवा पुगेको छ ।

नकारात्मक प्रभाव :
विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपुर्ण आधारको रुपमा रहेता पनि यसका नकारात्मक पक्षलाई नजर अन्दाज गर्न मिल्दैन । केहि नकारात्मक प्रभाव निम्न बमोजिम छ ।

विप्रेषणबाट प्राप्त रकमका अधिकाशं हिस्सा घरायसी उपभोगमा खर्च : नेपाल जिवनस्तर सर्वेक्षण २०६८ अनुसार विप्रेषण प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा विप्रेषणले ओगटेमा छ भने प्राप्त विप्रेषण रकम मध्ये ७८.९ प्रतिशत घरायसी उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षामा र ४.५ प्रतिशत घरायसी सम्पती खर्च भई विप्रेषण रकमको ०.६ प्रतिशत मात्र बचत गर्ने देखीन्छ ,
श्रम शक्तीको पलायन हुने
परनिर्भरमुखी अर्थतन्त्र हुने 
व्यापार घाटामा वृद्घि हुने
राष्ट्रिय स्वाभिमान कमजोर हुदै जाने स्थीती हुने

अन्त्यमा विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ । वाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको छ । विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै आएको छ । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या आर्थिक वर्ष २०७०/७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो भने यो संख्या आर्थिक वर्ष २०७५/७६ मा २,४३,८६८ रहेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् । उक्त अवधिमा खाडी मुलुकहरुबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको छ । राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह आकर्षित गर्न विप्रेषण पठाउदा लाग्ने लागतमा कमी ल्याउने र वित्तीय पहुँच बिस्तार गर्ने लगायतका कार्यले विप्रेषण रकमको उत्पादनशील उपयोग बढाउन सकिने देखिन्छ ।