Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

होटलमा बैंकिङ लगानी धेरै, पर्यटन क्षेत्रमा गरिएको अरबौं लगानी जोखिममा

२०७६ चैत्र २६ गते

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रले पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढाएका थिए । भिजिट नेपाल घोषणापछि उक्त लगानी थप भएको हो । बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा करिव १ खर्ब ४० अर्व लगानी गरेका छन् । यो लगानी पुस मसान्त सम्मको तथ्याङक हो । पर्यटन क्षेत्रको पनि विशेषगरी होटल क्षेत्रमा लगानी बढी छ ।

बैंकिङ लगानी जोखिममा

चालु आर्थिक बर्षमा मात्रै करिव १५ अर्ब भन्दा बढी बैंकवित्तबाट लगानी भएको छ । उक्त लगानीमा सहकारीको डाटा उल्लेख छैन । भ्रमण वर्ष २०२० घोषणा भएसँगै पर्यटन क्षेत्रमा विभिन्न संघसंस्था तथा नीजि क्षेत्रले लगानी बढाएका थिए । होटल, ट्रेकिङ, रिसोर्ट जस्ता क्षेत्रमा कर्जाको माग बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनका कारण पनि यस क्षेत्रमा कर्जाको माग बढेको हो । पर्यटन बर्ष घोषणाले त्यसलाई थप उर्जाशील बनाएको थियो । अहिले कोरोना महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी क्षति व्यहोर्ने निकाय बनेको छ । पर्यटन क्षेत्रमा करिव ८ लाख व्यक्तिले रोजगार पाएको ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) बताउँदै आएको छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने पर्यटन क्षेत्रमा लागेका व्यक्तिहरुको रोजगारी नै संकटमा परेको देखिन्छ ।

पर्यटन व्यवसाय विश्वकै लागि चुनौती
कोरोना महामारीसँगै विदेशी पर्यटकहरु सबैजसो फर्किसकेका छन् । विश्व जगतमै कोरोनाको प्रभाव उच्च रुपमा बृद्धि हुँदै गएका कारण विश्वकै पर्यटन क्षेत्र जोखिममा परेको छ । पर्यटकिय मुलुकहरुका लागि त सबैभन्दा धेरै क्षति व्यहोर्नुपरेको छ । हाल सबैजसो देशहरु लकडाउनको अबस्थामा छन् । लकडाउन खुलेपछि पनि तत्काल पर्यटकहरुलाई कुनै पनि देशमा आवत जावत गर्न रोक लगाइने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दो अबस्थामा छ । यो डाटा अत्याधिक मात्रामा घटेपछि मात्रै पर्यटकीय क्षेत्रमा चहलपहल सुरु हुन सक्छ । तथापी हालको अबस्थामा महिनौ मात्र होइन बर्ष नै पर्खनुपर्ने यसले देखाउँछ । यसकारण पर्यटन क्षेत्रको विकास र विस्तार तत्काल हुन सक्ने देखिँदैन । जसले गर्दा होटलहरु र अन्य क्षेत्रमा गरिएको लगानी जोखिम अबस्थामा परेको छ । हालै नेपाल राष्ट्र बैंकले व्याजदर र साँवा भुक्तानीको विषयलाई केही समय पर सार्ने निर्णयसहित राहतको प्याकेज ल्याएको छ । तथापी व्याज छुट गर्ने सम्बन्धमा राष्ट्र बैंकको आधिकारीक धारणा आएको छैन । कोरोना संक्रमणले विश्वका अन्य पर्यटकिय देशहरुमा जस्तै नेपालको पनि पर्यटन क्षेत्रमा ठुलो चुनौती देखाएको छ ।