Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बिचार

रोजगारीको कोटा घटेपछि ‘रेमिट्यान्स कमजोर बन्दै’ (सुमन पोख्रेलसँगको अन्तरबार्ता)  

२०७३ असार २३ गते

suman pokharel 2सुमन पोखरेल आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल रेमिटर्स एशोसियसनका महासचिव हुन् । वित्तीय क्षेत्रमा लामो समयको अनुभव संगालेका पोखरेल पछिल्लो समय वैदेशिक रोजगारमा आएको शिथिलताले रेमिट्यान्समा प्रभाव परेको बताउँछन् । नेपाली अर्थतन्त्रकै ‘मेरुदण्ड’ मानिएको रेमिट्यान्सलाई बढाउनका लागि सरकारले प्रभावकारी नीतिको तर्जुमा गर्नुपर्ने र बैदेशिक रोजगारीमा गएका सबै नेपालीले बैधानिक बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्राउनुपर्नेमा उनको जोड छ । प्रस्तुत छ शिथिलतामा परेको बैदेशिक रोजगार तथा रेमिट्यान्स क्षेत्रको अबस्थाका बारे रेमिटर्स एशोसियसनका महासचिव समेत रहेका पोखरेलसँग गरिएको कुराकानी :
 
नेपालको सन्दर्भमा रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डनै बनिसकेको छ तर विगतभन्दा रेमिट्यान्स घटेको देखिन्छ, यसको मुख्य कारण के हुन सक्छ ? 
रेमिट्यान्सलाई अर्थतन्त्रको मेरुदण्ड त भनिन्छ तर यसको व्यवस्थापनमा भने सम्बन्धीत पक्षबाट अलि गम्भिरतापूर्वक सोचिएको पाईंदैन । तपाईले भनेजस्तै विगतभन्दा पछिल्लो वर्ष रेमिट्यान्स बृद्धिदर घटिरहेको छ, यो क्रम जारी रहने पनि देखिन्छ । यसरी रेमिट्यान्स घट्नुका केही कारणहरु छन् । मुलत सरकारले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गर्नु र त्यसपछिको अन्यौल अबस्था नै मुख्य कारण देखिन्छ । मेरो भनाईको अर्थ यो हैन कि फ्रि भिसा फ्रि टिकेटको स्किम नराम्रो होइन, यो राम्रो हुँदा हुँदै पनि अहिलेको परिणामले यो अव्यवहारिक देखायो । सरकारले नागरिककै हितको लागि लिएको निर्णय भए पनि केही बिचार गरेर बैदेशिक रोजगारमा कोटा नघट्नेगरी ‘होमवर्क’ राम्रो निर्णय गरेको भए उपयूक्त हुन्थ्यो । राम्ररी अध्ययन गरेर यसका व्यवहारिक पक्षबारे बुझेर निर्णय नलिइएकाले यसको असर रेमिट्यान्समा पर्न गएको देखिन्छ । मलेसियाको त हामीले देखिहाल्यौँ, कि अहिले नेपाली कामदार नै बन्द गरिदिएको छ । मलेसियाबाट भारी मात्रामा रेमिट्यान्स भित्रिन्थ्यो । त्यसमा गिरावट आएको छ । सँगसँगै अर्को कारण हो विदेशबाट फर्किनेको संख्या बढी हुनु । मेरो व्यक्तिगत विचारमा नेपालबाट विदेश जानेहरुको संख्या अहिले कम भएको जस्तो देखिएको छ । तर विदेशबाट नेपाल आउनेहरुको संख्या बढिरहेको छ । यसले पनि रेमिट्यान्समा प्रभाव पारेको छ ।  

रेमिट्यान्स बढाउन कसको भूमिका मुख्य रहन्छ ?
निश्चय पनि सरकारको भूमिका यहाँ प्रधान हुन्छ । अन्य सरोकारवाला निकायहरुको भूमिका पनि कम हुँदैन । तर मुख्य रुपमा सरकारले अहिले रेमिट्यान्सका लागि काम गरिरहेका कम्पनीहरुलाई अलि फराकिलो नजरले हेर्नुपर्छ । उनीहरुलाई सहजिकरण गर्नुपर्छ साथसाथै सकेसम्म बैंकिङ च्यानलबाटै रेमिट्यान्स भित्राउन पहल गर्नुपर्छ ।  

suman pokharel 3यस आर्थिकबर्षबाट सरकारले काँचो सुन आयातमा रोक लगाएको छ, यसले रेमिट्यान्समा कस्तो प्रभमव पार्ला  ?
यसलाई एउटा सकारात्मक पाटोको रुपमा लिन सकिन्छ । हामीलाई विश्वास छ, यसले केही हदसम्म रेमिट्यान्स बढाउन मद्दत गर्नेछ । अहिले पनि सबै पैसा औपचारिक माध्यमबाट आइरहेको छैन । अनौपचारीक माध्यमबाट झण्डै ३० प्रतिशत रकम आउने गरेको हाम्रो अनुमान छ । हुण्डी अर्थात अवैधानिक माध्यमबाट आउने रेमिट्यान्सलाई औपचारिक र बैधानिक माध्यमतिर तान्न सक्ने हो भने अहिले घटेका रेमिट्यान्सको बृद्धि पनि हुन्छ र राज्यलाई कर पनि प्राप्त हुन्छ । सरकारले बैधानिक च्यानललाई विदेशमा रहेका नेपालीहरुको पहुँचमा लैजान उत्साहित गर्नुपर्छ ।

सरकारले के गर्दा यहाँहरुजस्ता कम्पनिहरुलाई काम गर्न सजिलो हुन्छ ? 
रेमिट्यान्स कारोबार गर्ने व्यवसायी तथा कम्पनीलाई सेवामूलक र प्राथमिकताका क्षेत्रमा वर्गीकरण गरेर सरल व्याजदरमा बैंकिङ सुविधा उपलब्ध गराउन सकेको देखिँदैन । यदि रेमिट्यान्स कम्पनीलाई सेवामूलक क्षेत्रमा वर्गीकरण गर्ने हो भने बैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्स सदुपयोग पनि हुने थियो । हुण्डीलाई डिस्करेज गर्न सरकारले सहयोग गर्नुपर्छ । र बैकिङ क्षेत्र अनि रेमिट्यान्स भित्राउने कम्पनिहरुलाई सहयोग गर्नुपर्छ । अहिले पनि कुल जिडिपिको ३० प्रतिशतभन्दा बढी रेमिट्यान्सको योगदान छ, तर त्यत्रो पैसा कहाँ जान्छ ? यसमा चाहिँ मेरो अलि फरक धारणा छ । मान्छेले सबैभन्दा पहिला बाँच्नुपर्छ । त्यसपछि उसलाई आवश्यक कुराहरुको परिपूर्ति गर्नतिर ऊ लाग्छ । जब उसलाई सबैतिर सहज हुँदै जान्छ अनि उसले अन्य अतिरिक्त सुविधा लगायत क्षेत्रमा हेर्न थाल्छ । रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगानी गर्नसके राम्रो हो, यसको सदुपयोग हुन्थ्यो, राष्ट्रलाई फाइदा हुन्थ्यो, व्यक्ति स्वयमले पनि फाइदा लिन सक्थ्यो । तर विदेशमा दुख गरी एउटा युवाले पैसा कमायो भने उसले पहिला आफ्नो ऋण तिर्नपर्छ, वालबच्चा पढाउनपर्छ, उसका आधारभूत समस्या नै मुख्य हुन आउँछ किन कि विदेश जाने भनेको सम्पन्न व्यक्ति त होइन नि । सँगसँगै उसका आवश्यकता र रहर पूरा गर्नतिर ऊ लाग्छ । घर, घडेरी, लत्ताकपडा, सवारी इत्यादी । यी सब कुरा परिपूर्ति गरेर उब्रियो भने बल्ल उसले बाँकी पैसालाई के गर्ने भन्नेबारे सोच्ला । त्यसैले यो अलि चुनौतिपूर्ण देख्छु म । तर यति हुँदा हुँदै पनि रेमिट्यान्सबाट भित्रिरहेको रकमलाई राज्यले एउटा उपयुक्त नीति बनाएर व्यवस्थापन वा सदुपयोग गर्न सकेको खण्डमा केही न केही सकारात्मक प्रभाव पर्न सक्छ । 
 
suman pokharel 4नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगार बचतपत्र ल्याइरहेको छ, तर प्रवासी नेपालीहरु त्यसमा त्यति आकर्षित भएको पाइदैन नि ?
बैदेशिक रोजगारीमा जाने कामदारहरुको आम्दानी सुरक्षित गर्न सरकारले बचत पत्र जारी गरेको हो । तर त्यसतर्फ कामदारको आकर्षण जति बढ्नुपर्ने हो त्यो बढ्न सकेको देखिदैन । अब ब्याजकै कुरा गर्ने हो भने पनि ९ प्रतिशत पाइन्छ । बचतपत्रमा जम्मा गर्नेले ६ महिनामा ब्याज भुक्तानी पाउनुका साथै पाँच वर्षपछि साँवा पनि पाउँछन् । यीत्यादी फाइदा हुँदा हुँदै पनि यसमा आकर्षण बढ्न नसक्नुमा यसबारे जानकारीको कमी भएको हो कि भन्ने लाग्छ । 

अब नेपालको सन्दर्भमा, रेमिट्यान्सले अर्थतन्त्रमा पहिलेको जस्तै पकड राख्न सक्ला ?  
रेमिट्यान्स बढ्न सक्छ । नेपाली अर्थतन्त्रको कुरा गर्नुहुन्छ भने, अहिलेको भन्दा अझै प्रभाव राख्न सक्छ रेमिट्यान्सले । तर त्यसका लागि सरकारले रेमिट्यान्स कम्पनीहरुलाई उत्साहित गर्न सक्नुपर्छ । यदी रेमिट्यान्सको नाममा कहीँ कतै गलत भएको छ भने त्यस्तालाई कारबाही गर्नुपर्छ । अहिले प्राइभेट कम्पनीहरुकै जोडबलमा रेमिट्यान्स क्षेत्र यसरी फराकीलो भएको छ । यसलाई अझै फराकिलो र व्यवस्थित बनाउन सरकारले उचित पहल गर्नुपर्छ ।