बैंकिङ खबर / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि थप प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याउने भएको छ। कम्पनीले कुल ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्ता शेयरमध्ये बिक्री नभई बाँकी रहेको हिस्सा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासन गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
आईपीओमा लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासनको अवधि छिटोमा भदौ २५ गतेसम्म रहनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ। इच्छुक लगानीकर्ताले आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार आईपीओबाट संकलन हुने रकम बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिनेछ।आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज निर्धारण हुने देखिएको छ ।