बैंकिङ खबर । कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेका छन् । भिडभाडमा कोरोनाको जोखिम हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा भिडभाड नगरी अनलाइन मार्फत कारोबार गर्न आग्रह गरेका हुन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघको शुक्रबार बसेको संयुक्त बैठकले शाखाहरुमा भिडभाड कम गर्न र विद्युतीय कारोबार गर्न भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा इन्टरनेट तथा मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमवाट गरिने कारोबार निशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ ।
त्यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने ब्यबस्था गरिएको छ । साथै नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवा निशुल्क भएको छ ।
कोरोनाको जोखिम बढेको र कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोटको कारोबार नगर्न बैंकहरुले आग्रह गरेका छन् ।
