बैंकिङ खबर । कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँको कोष स्थापना गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गर्दै कोष स्थापनाको घोषणा गरेका हुन् ।
साना, मध्यम र ठूला वडाहरुलाई क्रमशः दुई लाख, तीन लाख र चार लाख रुपैयाँका दरले ३२ वडालाई बितरण गरिने मेयर शाक्यले जानकारी दिएका छन् । मेयर शाक्यले विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरिसकेको भाइरस नियन्त्रणका लागि महानगरले प्रयास गरिरहेको बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णय भएको पनि मेयर शाक्यले बताए । यसका लागि काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने बताइएको छ ।
कोरोना भाइरस नियन्त्रण प्रभावकारी गराउन जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ घण्टा हेल्पडेक्स स्थापना गरिने भएको छ । त्यस्तै, महानगर भित्र एक लाख माक्स र स्यानिटाइजर निःशुल्क वितरण गरिने भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इपीडोमियोलोजी बिभागका प्रमुख डा.बासुदेब पाण्डेले नेपालमा कोरोनाको संक्रमण नदेखिएको बताए । देखिइहाले पनि विश्व स्तरको प्रविधि र उपचार नेपालमै सम्भव रहेको उनले दाबी गरे । उनले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताए । कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने गरी काम गर्न तयार रहेको उनले बताए ।



