Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्तका ग्राहक ४४ लाख ६१ हजार पुगे, कर्मचारीको संख्या १८ हजार बढी

२०७६ माघ १७ गते

बैंकिङ खबर । ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा लगानी गर्दै आएका लघुवित्तमा ४४ लाख ६१ हजार ९ सय नागकि संलग्न भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार ७७ वटै जिल्लामा गरेर लघुवित्त कम्पनीले ३ हजार ६ सय ९१ शाखा, २ लाख ८६ हजार ५ सय २४ सेवा केन्द्र र ९ लाख ६१ हजार समूहमार्फत ४४ लाख ६१ हजार व्यक्तिलाई आबद्ध गरेका हुन् । राष्ट्र बैंकको प्रतिवेदन अनुसार लघुवित्त कम्पनीमा १८ हजार ३ सय ७९ जनाले रोजगार पाएका छन् । नेपाल राष्ट्र बैंकले मुलुकभरका ८९ वटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ५५ हजार ४ सय २५ जनालाई ऋण प्रवाह गरेको तथ्यांक सार्वजनिक गरेको छ।

कर्जा उठाउन भने समस्या
लघुवित्त विपन्न वर्ग एवम् ग्रामीण भेगका जनताका लक्षित संस्था हो । आँट र सीप भएर पनि पैसाको अभावमा उद्यम गर्न नसकेका व्यक्तिहरुलाई लघुवित्त वित्तीय संस्थाले विना धितो कर्जा प्रदान गर्दछ । गरिबी न्युनीकरण गर्न र ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तको विकास भएको हो । यसरी स्थापित लघुवित्त वित्तीय संस्थाहरुको संख्या नेपालमा ८९ पुगेको छ । एउटै गाउँमा धेरै वटा लघुवित्त वित्तीय संस्था पुगेका छन् । जसको फाइदा उठाउँदै केही व्यक्तिहरुले कर्जाको दुरुपयोग गरेका कारण लघुवित्तको क्षेत्रमा कर्जा जोखिम बढ्दै गएको छ ।
धितो विना नै सजिलै कर्जा पाइने भएपछि यसको दुरुपयोग गर्नेहरुको संख्या बढ्दो छ । एउटा लघुवित्तबाट लिएको कर्जा चुकाउन अर्को लघुवित्तबाट कर्जा लिने गर्दा गर्दै एकै व्यक्तिले दर्जन बढी लघुवित्तबाट कर्जा लिएको समेत पाइएको छ । यो प्रवृत्ति लघुवित्त क्षेत्रका लागि पक्कै पनि सुखद कुरा होइन । लघुवित्तले उद्यम गरेर आएको आम्दानीबाट चुक्ता गर्छ भन्ने विश्वासमा कर्जा दिएको हुन्छ । उद्यममा लगानी भएन भने ऋणीले उक्त कर्जा चुक्ता गर्न सक्दैन र अर्को लघुवित्तबाट कर्जा लिन्छ । फेरि त्यो लघुवित्तको कर्जा चुकाउन अर्कोबाट लिन्छ । श्रम नै नगरी पैसा पाउने भएपछि यो क्रम कहिल्यै रोकिँदैन । यस प्रवृत्तिले धेरै वटा लघुवित्तको कर्जा खेर जान्छ । उद्यमशीलता विकासमा काम आउँदैन ।

कर्जा सूचनामा कम्जोर 
लघुवित्तको कर्जाको दुरुपयोग हुनुको प्रमुख कारण भनेकै कर्जा सूचनाको व्यवस्थापन नहुनु हो । कुन लघुवित्तबाट कसले कर्जा लगेको छ भन्ने थाहा नहुने भएपछि जसले जुनबाट जति बेला पनि कर्जा लिन सक्छ । एउटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले अर्कोमा कर्जा लिन गएको थाहा पाउनका लागि कर्जा सूचना केन्द्रको व्यवस्था गरिनुपर्छ । प्रवाह भएको कर्जा सही ठाउँमा प्रयोग भएको छ छैन भनी अनुगमन पनि गर्नुपर्छ । कर्जा फिर्ता आएको छँदैछ भनेर लघुवित्तहरु चुप बस्यो भने कर्जाको दुरुपयोग झन् बढ्छ । कर्जा लिन आउने व्यक्तिले यसअघि कतै कर्जा लिएो छ छैन भनी जाँचबुझ नगरी कर्जा प्रवाह गर्नुहुँदैन । लघुवित्तका ऋणीहरुको यस किसिमको जानकारीका लागि समन्वयन गर्न कर्जा सूचना केन्द्रको आवश्यकता देखिएको छ ।

Ad