Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर डा. नेपाल भन्छन्, ‘समृद्धिका लागि वित्तीय जागरण’

२०७६ माघ १२ गते

बैंकिङ खबर । गभर्नर डा. चिरंजीबि नेपालले आर्थिक समृद्धिका लागि नेपालीलाई वित्तीयरूपमा साक्षर बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्धनमा शुक्रबार पाल्पाको तानसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

गभर्नर नेपालले वित्तीय साक्षरता नै समृद्धिको प्रमुख आधार भएको बताए । ‘नेपालीले पैसा र यसको उपयोगबारे सुक्ष्म ज्ञान पाए भने समृद्धि धेरै टाढा छैन,’ गभर्नर नेपालले भने, ‘यसका लागि केन्द्रीय बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूलाई प्रोत्साहन गरिरहेको छ ।’ उनले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको हितमा रहेर काम गर्न निर्देशन पनि दिए ।

नेपाल राष्ट्र बैंक प्रदेश ५ का प्रमुख राजेन्द्र भट्टराईले पैसा चिनेर काम गर्न सके विदेश जानै नपर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुहोस्, दिएनन् भने राष्ट्र बैंकलाई खबर गर्नुहोस्, कृषक र उद्यमीलाई सरल र सहुलियत कर्जाहरू छन् ।

बैंक तथा वित्तीय संस्थामा सर्वसाधरणको पहुँच बढाउने उद्देश्यले पाल्पामा कार्यक्रम गरिएको वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए । उनका अनुसार बैंकमा कारोबार गर्दा हुने फाइदा, विभिन्न प्रकारका बैंकिङ कर्जा र उद्यमशीलताबारे कार्यक्रममा जानकारी गराइएको थियो । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमी बनेकाहरूको अनुभव पनि सुन्दै बैंक तथा वित्तीय संस्थाको महत्त्व र त्यसबाट लिन सकिने फाइदाबारे सर्वसाधरलाई जानकारी गराइयो,’ संयोजक निर्दोषले भने, ‘पैसा के हो, यसको परिचालन कसरी गर्ने भन्नेबारे सन्देशमूलक प्रस्तुतिहरू पनि देखाइएको थियो ।’

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका तर्फबाट जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बाबुराम विक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका डीसीईओ प्रकाश गुरुङलगायतले वित्तीय साक्षरताका कार्यक्रमकै कारण पछिल्लो समय वित्तीय पहुँचमा रहेका नागरिकको संख्या बढेको बताए ।

२४ कात्तिक २०७२ मा रुपन्देहीको रुद्रपुरबाट गभर्नर नेपालले नै कार्यक्रम उद्घाटन गरेका थिए । आगामी २४ माघमा यस्तै कार्यक्रम कैलालीको धनगढीमा आयोजना हुने भएको छ ।

Ad