
बैंकिङ खबर । मर्जर तथा एक्विजिसनका लागि फाइनान्स कम्पनीलाई बैंकहरुले खासै वास्ता नगरेपछि मर्जरको कार्यमा फाइनान्स कम्पनीहरु ओझेल परेका छन् । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरु ध्माधम मर्जर हुँदै गर्दा फाइनान्स कम्पनीहरुमा मर्जरको विषयले प्राथमिकता पाएको छैन । वाणिज्य बैंक, विकास बैंक र लघुवित्तहरु मर्जर पार्टनर खोज्ने तथा र मर्जरको प्रक्रिया अगाडि बढाउने कार्यमा लागेका छन् । यद्यपि, फाइनान्स कम्पनीहरु मर्जरमा सुस्ताएका छन् ।
हाल नेपालमा २२ वटा फाइनान्स कम्पनीहरु संचालनमा रहेका छन् । जसमध्ये, जानकी फाइनान्स, मल्टिपर्पोज फाइनान्स र सिर्जना फाइनान्स बाहेक १९ वटा फाइनान्सले राष्ट्रिय स्तरको कारोबार गर्दै आएका छन् । राष्ट्र बैंकले राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको चुक्तापुँजी ८० करोड तोकेको छ । जसअनुसार, गुडविल, युनाइटेड, प्रोग्रेसिभ, पोखरा, क्यापिटल, गुह्येश्वरी, आईसीएफसी, मञ्जुश्री, रिलायन्स, गोर्खाज, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल र बेष्ट फाइनान्सको चुक्ता पुँजी न्युनतम सीमा भन्दा माथि छ ।
वाणिज्य बैंकहरु सबैले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याईसकेका छन् भने विकास बैंकहरु पनि सबैले तोकिएको पुँजी पुर्याएका छन् । अझै सशक्त बन्नका लागि वाणिज्य बैंकहरु एकआपसमा गाभिने क्रम समेत सुरु भएका छन् । वाणिज्य बैंकमै गाभिएर विकास बैंकको संख्या पनि घटिरहेको छ । केही ठूलै विकास बैंक पनि वाणिज्य बैंकमा विलय भएका छन् भने केही विकास बैंकले साना विकास बैंकलाई गाभेका छन् । अर्कोतर्फ लघुवित्तहरु पनि एकआपसमा गाभिने लहर चलेको छ । तर, फाइनान्स कम्पनीहरुको भने मर्जर तथा एक्विजिसनमा सक्रिय देखिएका छैनन् ।
केही समयअघि केही फाइनान्सहरु विकास बैंक र वाणिज्य बैंकमा गाभिएका थिए । तर, पछिल्लो समयमा कुनै फाइनान्स कम्पनीहरु मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका छैनन् ।a


