बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद केही महिनादेखि रिक्त छ । अब भने छिटै बोर्डले नयाँ अध्यक्ष पाउने भएको छ । यो साता बोर्डका्े अध्यक्षका लागि अन्तिम तीन नाम सिफारिश गरिएको छ । तीनैमध्येबाट एक जना अध्यक्ष बन्नेछन् । यस बाहेक यो साता वित्तीय क्षेत्रमा अन्य केही गतिविधिहरु पनि भएका छन्ः
१४ परियोजनाका लगानीकर्ताको सूचि तयार
गत वर्षको चैत्रमा आयोजना गरिएको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूचि तयार पारिएको छ । लगानी बोर्डले १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारेको हो । बोर्डका अनुसार, ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजना, १० अर्ब ५४ करोड रूपैयाँको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ्ग प्लान्ट परियोजना, करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका साथै करिब १३ अर्ब रूपैयाँ कुल लागतका विराटनगर, वीरगंज र भैरहवामा मल्टीमोडल लजिस्टिक पार्क निर्माणका लागि छुट्टा छुट्टै कम्पनीहरुसँग प्रारम्भिक सम्झौता भएको छ ।
धितोपत्र बोर्डमा छिटै नयाँ नेतृत्व
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिश भएको छ । अध्यक्ष छनौटका लागि गठित समितिले सोमबार भीष्मराज ढुंगाना, निरज गिरी र डा. केशव प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्ले यी ३ मध्येबाट एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । अध्यक्ष सिफारिसको लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।
एटीएम कारोबारको सीमा पुरानै
नेपाल राष्ट्र बैंकले एटिएमबाट झिक्न पाइने रकमको सीमा बढाएको छ । एटिएम ह्याकिङ प्रकरणपछि राष्ट्र बैंकले एक दिनमा एक लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो भने एकपटकमा २५ हजार झिक्न पाइने गरेकोमा २० हजारमात्रै झिक्न पाइने व्यवस्था गरेको थियो । अब भने पुनः एक दिनमा एक लाख झिक्न पाइने र एक पटकमा २५ हजार झिक्न पाइने व्यवस्था लागू भएको छ । त्यस्तै, एटिएम बुथमा २४ घण्टा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशन पनि खारेज गरिएको छ ।
राष्ट्र बैंकमा नयाँ प्रवक्ता
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । प्रवक्ता लक्ष्मी प्रपन्न निरौला राष्ट्र बैंकबाट अवकाश भएपछि नयाँ प्रवक्तामा डा. भट्टलाई नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थालाई निर्देशन
नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।




