बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाई गर्दै नयाँ निर्देशन जारी गर्यो । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै उत्पादनमूलक क्षेत्रमा तोकिएको लगानी समउमा नै पुर्याउन पनि बैंकहरुलाई निर्देशन दियो । अन्य थुप्रै गतिविधिहरु यो साता बैंकिङ क्षेत्रमा भएका छन्ः
उत्पादन क्षेत्रमा लगानी नगर्ने बैंकलाई जरिवाना
नेपाल राष्ट्र बैंकले तोकिएको समयमा नै उत्पादनमूलक क्षेत्रमा तोकिएको कर्जा प्रवाह नगर्ने बैंकलाई हर्जाना तिराउने भएको छ । हर्जना स्वरुप राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेको रकम लिने भएको छ । त्यस्तै, राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत निर्यात जन्य उद्योग, सिमेन्ट, गामेन्ट, औषधी र साना तथा मझौला उद्योग थप गरी यी क्षेत्रमा २०७७ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । कृषि क्षेत्रमा १० प्रतिशत र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा २०७७ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने छ । मर्जरमा संलग्न रहेका वाणिज्य बैंकले प्राथमीकताप्राप्त क्षेत्रमा कर्जा सीमा पुर्याउने म्याद २०७८ असार मसान्तसम्म पुर्याइएको छ ।
घरजग्गा कर्जामा कडाई
नेपाल राष्ट्र बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ । कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउनुपर्ने भएको छ भने ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्नुपर्ने भएको छ । उक्त सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा त्यसलाई सुक्ष्म निगरानीमा राख्दै सोही अनुसारको प्रोभिजन राख्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंकमा हड्ताल नगर्न सर्वोच्चका आदेश
सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु ।” सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा सङ्लग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ ।
स्वचालित प्रणालीबाट बीमा गराउन निर्देशन
बीमा समितिले कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बीमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले म्यादी बीमाको पुलको व्यवस्थापन गर्दै आएका गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई समितिले यस्तो निर्देशन दिएको हो । समितिले बीमा गर्न चाहने व्यक्तिले अनलाईनबाट सजिलै भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउन भनेको छ । निर्देशनमा बैदेशिक रोजगार म्यादी बीमाको लागि बैदेशिक रोजगार विभागमा समन्वय गर्न समेत भनिएको छ ।
राष्ट्र बैंकका प्रवक्ताको अवकाश
नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले अवकाश लिएका छन् । करिव २५ वर्ष नेपाल राष्ट्र बैंकमा सक्रिय रहेका उनले अवकाश हुनु एक महिनाअघि बिदामा बसेका छन् । क्षमतावान, ईमान्दार र कर्तव्यनिष्ठ व्यक्तिका रुपमा परिचित उनको कार्यअवधि एक महिनामा सकिँदै छ । कार्यकाल सकिनुअघि निरौला एकमहिने विदामा छन् । अबको एकमहिनामा राष्ट्र बैंकबाट उनी औपचारिक रुपमै बाहिरिनेछन् ।




