बैंकिङ खबर । यो साता राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित देशको आर्थिक एवम् वित्तीय स्थितीको समीक्षा प्रतिवेदन सार्वजनि गर्यो । वित्तीय क्षेत्रमा सामाजिक सुरक्षा कोष लागू गर्ने विषय सर्वाधिक चर्चामा रह्यो ।
सामाजिक सुरक्षा कोषमा वित्तीय क्षेत्र
सरकारले वित्तीय क्षेत्रमा सामाजिक सुरक्षा कोष लागू गर्ने अडान लिएको छ । वित्तीय क्षेत्र भने नजाने मनशायमा छन् । बैंकर्स संघले कोषमा जान शर्त अघि सारेको छ । लघुवित्त वित्तीय संस्थाहरु बल्ल छलफलमा जुटेका छन् । सेवा सुविधाका कारण वित्तीय क्षेत्रका कर्मचारी नै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मानिरहेका छैनन् ।
देशको आर्थिक एवम् वित्तीय स्थिती
राष्ट्र बैंकको समीक्षा अनुसार कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ । आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति रु.११०३ अर्ब १२ करोड कायम भएको छ । उक्त सञ्चिति ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु. २१९ अर्ब १७ करोड र राजस्व परिचालन रु.२७५ अर्ब २ करोड छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.४ प्रतिशत र कर्जाको वृद्धिदर १५.६ प्रतिशत छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विदेशबाट लगानी भित्र्याउने
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विदेशबट पैसा भित्र्याउने भएको छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको अफसोर बण्ड जारी गरी विदेशी वित्तीय बजारबाट पैसा भित्र्याउन लागेको हो । आइतबार सम्पन्न पहिलो वार्षिक साधारणसभामा बैंकले यस्तो घोषणा गरेको हो । यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने अध्यक्ष अनुज अग्रवालले बताए । बैंकले एक बर्षभित्र ८ अर्बको साधारण शेयर जारी गर्ने तयारी पनि गरेको छ ।
भारत सिमानामा बीमा समितिको सूचनामूलक होडिङ बोर्ड
बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईँको उपस्थितिमा रुपन्देहीको बेलहिया नाकामा बोर्ड राखिएको हो । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं, राष्ट्रिय अर्थतन्त्रमा सहयोग र्पुयाउँ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ। बोर्डमार्फत विदेशी बीमा कम्पनीमा बीमा गर्नु गैरकानुनी भएको र कारबाही समेत हुन सक्ने भन्दै नेपालकै बीमा कम्पनी एवम् अभिकर्तामार्फत बीमा गराउन आह्वान गरिएको छ ।
धौलागिरि र आँधीखोला लघुवित्त गाभिने
बागलुङको धौलागिरि लघुवित्त वित्तीय संस्था र स्याङ्जाको आँधीखोला लघुवित्त वित्तीय संस्था गाभिने भएका हुन् । मर्जरपछि धौलागिरि आँधीखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । संस्थाको अध्यक्षमा धौलागिरिबाट इश्वरलाल राजभण्डारी हुने र प्रमुख कार्यकारीमा आँधीखोलाका डोलराज केसी हुने सम्झौता भएको छ । नायव प्रमुख कार्यकारीमा धौलागिरिका प्रमुख कार्यकारी शिवराम जोशी रहनेछन् । केन्द्रीय कार्यालय पोखरामा रहने भएको छ ।
दुई महिनाभित्र प्राइम र कैलाशको एकीकृत कारोबार
मर्जर प्रक्रियामा रहेका प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले अबको दुई महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने भएका छन् । प्राइम बैंकले कैलाश विकास बैंकलाई गाभ्नेबारे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।




