बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा तीन खर्ब चार अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो वर्ष गत आर्थिक वर्षको तुलनामा २.३ प्रतिशत कम रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा गत वर्ष २३.१ प्रतिशतले बढेको विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको चार महिनामा १.५ प्रतिशतले घटेको छ ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले घटेर तीन खर्ब ४४ अर्ब आठ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।


