Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

शाखा प्रबन्धकबाटै बैंकको रकमको दुरुपयोग, अख्तियारद्धारा मुद्धा दायर

२०७६ मंसिर १० गते

बैंकिङ खबर । गैरकानुनी तवरबाट झन्डै ३४ करोड रुपैयाँ निकालेको आरोपमा कृषि विकास बैंकको स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्धा परेको छ । २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

गौतममाथि झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र टान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट मार्फत भुक्तानी लिने, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ सिस्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र बैंकलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको आरोप छ ।

त्यस्तै बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारले जनाएको छ ।

अख्तियारले गौतम र बानियाँसंगबाट समान ३३ करोड ९३ लाख बिगो माग गरेको छ । त्यस्तै अख्तियारले सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापा बिरुद्द पनि मुद्दा दायर गरेको छ । उनीहरुसंग पनि अख्तियारले समान ३३ करोड ९३ लाख बिगो माग गरेको छ ।