बैंकिङ खबर । बैंकबाट कर्जा लिनेहरुलाई सजिलो भएको छ । पहिलो त्रैमासिक विवरणअनुसार, बैंकहरुको व्याजदर घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणको व्याजदर ०.२८ प्रतिशतले घटेको छ । गत वर्षको असोज मसान्तमा १२.२६ प्रतिशत रहेको औसत व्याजदर यस वर्षको असोजमा ११.९८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकहरुको बेस रेट नै १०.२३ प्रतिशतबाट ९.५६ प्रतिशतमा झरेको छ ।
निक्षेपको व्याजदर गत आर्थिक वर्षको तुलनामा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ६.५७ प्रतिशत थियो । यस आधारमा हेर्दा, अहिले बैंकमा पैसा राख्दा गत वर्षको तुलनामा बढी व्याज पाइन्छ भने कर्जा निकाल्दा गत वर्षको तुलनामा सस्तोमा पाइन्छ ।
गत वर्षको तुलनामा कर्जाको व्याजर सस्तो देखिए पनि चालू आर्थिक वर्षमा व्याज क्रमशः बढ्दैछ । त्यसमाथि, बैंकहरुसँग कर्जा दिने रकमको पनि अभाव रहेको छ ।


