Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कुनै मर्जर भाँडियो, कुनै अन्तिम चरणमा : बैंकिङ क्षेत्रमा अरु केके भयो यो साता ?

२०७६ मंसिर ६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको प्रथम तीन महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । त्यस्तै, यसै साता काठमाडौँमा तेस्रो बैंकिङ एक्स्पो सम्पन्न भएको छ । यसबाहेक अन्य बैंकिङ एवम् वित्तीय गतिविधिहरु यो साता भएका छन् :
केन्द्रीय बैंकद्धारा देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनाको तथ्यांकमा आधारित नेपालको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ भने तीन महिनाको औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको छ । त्यस्तै, आयात १०.३ प्रतिशतले घटेको छ भने निर्यात १४.४ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.९ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१०८७ अर्ब ७३ करोड कायम भएको छ । उक्त सञ्चिति ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु. १७२ अर्ब ३३ करोड र राजस्व परिचालन रु.२११ अर्ब २८ करोड छ । विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ४.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८.६ प्रतिशत र कर्जाको वृद्धिदर १६.२ प्रतिशत रहेको छ ।

आर्थिक वृद्धिदरबारे विश्व बैंकको प्रक्षेप
विश्व बैंकले चालू आर्थिक वर्षमा दक्षिण एशियाको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंकद्धारा मंगलबार सार्वजनिक प्रतिवेदनमा दक्षिण एशियाको आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने उल्लेख गरिएको छ । दक्षिण एशियामा उत्पादन घटेका कारण आर्थिक् वृद्धिदर घट्न सक्ने बैंकले स्पष्ट पारेको छ । बैंकको अध्ययन प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर भने ७.१ प्रतिशत पुग्ने अनुमान गरेको छ । आर्थिक वृद्धिदरलाई कायम राख्न उद्योग स्थापना गर्ने, कर असुली गर्ने जस्ता जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने विश्व बैंकको तर्क छ ।

देशकै ठूलो बैंक बन्दै ग्लोबल आईएमई
ग्लोबल आईएमई बैंकले जनता बैंकसँगको मर्जर साधारणसभाबाट पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ । मंसिर महिनाभित्रै एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।

विजय र स्वेडा लघुवित्तको मर्जर भाँडियो
स्वाप रेसियोमा कुरा नमिलेपछि विजय लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थाबीचको मर्जर टुटेको छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिंगको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्नको लागि गत असार २६ गते सम्झौता भएको थियो । प्रारम्भिक सहमति अनुसार १००ः८९ अनुपातको स्वाप रेसियोमा एक्विजिसन हुने बताईएको थियो । डीडीए रिपोर्ट अनुसार स्वाप रेसियोमा १० प्रतिशतसम्म तल माथि हुन सक्ने पनि उल्लेख थियो ।

नेपाल बैंकले साँढे दुई अर्बको डिबेन्चर जारी गर्ने
नेपाल बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्ने भएको छ । ’१०५ एनबिएल डिबेञ्चर २०८३’ जारी गर्नको लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ । सात वर्षका लागि निष्काशन गर्न लागिएको डिबेञ्चरको व्याजदर १० प्रतिशत रहेको छ । कुल २५ लाख कित्ता डिबेञ्चर मध्ये १५ लाख कित्ता व्यक्तिगतलाई र १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिने भएको छ ।

तिनाउ मिसन र नेपाल कम्युनिटीको एकीकृत कारोबार
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया अन्ति चरणमा पुगेको छ । सात जिल्ले तिनाउ मिसनले पाँच जिल्ले नेपाल कम्युनिटीलाई गाभेर मंसिर २२ गतेदेखि एकीकृत कारोबार थाल्ने तयारी गरेको छ ।तिनाउ मिसनकै नामबाट हुने एकीकृत कारोबारपछि बैंकको चुक्ता पूंजी १ अर्व ६७ करोड ५८ लाख, निक्षेप १४ अर्व ५० करोड, कर्जा लगानी १२ अर्व ३३ करोड र शाखा ६२ वटा पुग्नेछन् । बैंकको केन्द्रीय कार्यालय बुटवलको पाल्पारोडस्थित आफ्नै भवनमा रहनेछ ।