बैंकिङ खबर । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफाको वृद्धिदरमा भारी गिरावट आएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा झन्डै ४७ प्रतिशतले बढेको नाफा यस वर्ष ५ प्रतिशतले मात्रै बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा २८ वाणिज्य बैंकहरूको नाफा १६ अर्ब १७ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १५ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेका थिए । यो अवधिमा बैंकहरूको ब्याज आम्दानी तथा अन्य आम्दानी करिब ७ प्रतिशतले मात्र वढेको छ ।
तीन महिनामा बैंकहरुले निक्षेपभन्दा बढी कर्जा प्रवाह गरेका छन् । २८ बैंकले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । धेरै कर्जा विस्तार गरे तापनि शाखा विस्तारका कारण संचालन खर्च बढ्दा नाफा वृद्धिदर कम भएको हो । २८ बैंकमध्ये, आठ वटा बैंकको नाफामा गिरावट आएको छ । बाँकी २० बैंकको नाफा पनि सामान्य मात्रै बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १ अर्ब १२ करोड नाफा गरेको छ भने सबैभन्दा थोरै नाफा गर्ने बैंकमा भने सिभिल बैंक रहेको छ । बैंकले १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।


