२०७६ कार्तिक ११ गते

के हो मार्जिन कारोबार ? कसरी लिने सुविधा ?

बैंकिङ खबर । धितोपत्र खरीद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधाका लागि लगानीकर्ताले ५० प्रतिशत रकम आफूले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछन् । मानौँ, मसँग ५ लाख रुपैयाँ छ र मलाई १० लाखको शेयर खरीद गर्नुपर्याे भने बाँकी रकम मार्जिन सुविधाबाट ब्रोकर कम्पनीले कर्जाको रूपमा उपलब्ध गराउनेछ । यो सुविधा उपलब्ध गराउँदा ब्रोकर कम्पनीले सो सम्बन्धमा ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । सम्झौतामा प्रारम्भिक मार्जिन कति हुने, सम्भार मार्जिन दर कति हुने, मार्जिन कल कसरी गर्ने, सेवा शुल्क वा ब्याज कति हुने, कुन कुन शेयर खरीद गर्ने हो सोको विवरणसहित आवश्यकता अनुसार अन्य शर्त समेटिएको हुन्छ ।

यो सुविधा उपलब्ध गराएबापत कम्पनीले केही रकम ब्याज तथा अन्य शुल्कको रूपमा लिन सक्नेछ भने यसरी शेयर किनेपछि हुन सक्ने लाभ र हानि दुवैको पूर्ण जिम्मेवार भने मार्जिन सुविधा लिने लगानीकर्ता आफै हुन्छ । खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुने ब्रोकर कम्पनीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउँछन् ।

मार्जिन कर्जामा पहिले आफ्नो पैसाले धितोपत्र खरीद गरेपछि त्यसको प्रमाणपत्र धितोको रूपमा बैंकमा प्रस्तुत गर्नुपर्छ र त्यस धितोको आधारमा बैंकले केही प्रतिशत कर्जा दिन्छ । ब्रोकरमार्फत लिइने मार्जिन कारोबार सुविधामा भने आफूसँग भएको रकम ब्रोकरलाई दिइन्छ र ब्रोकरले त्यसमा थपेर धितोपत्र खरीद गरिदिन्छ अनि त्यो सबै धितोपत्रका प्रमाणपत्र आफूसँगै धितोका रूपमा राख्छ । ब्रोकर कम्पनीले धितोपत्र बजारमा पछिल्लो कम्पनीको शेयरको १ सय ८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशत हुन आउने रकम ग्राहकसँग शुरू मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था मार्जिन कारोबार सुविधासम्बन्धी कार्य्विधिमा उल्लेख छ । बजारको अवस्था तथा जोखिमलाई हेरी ब्रोकरहरूले लगानीकर्ताहरूबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्नेछ । शुरूको मार्जिन रकम ५० प्रतिशत हुने व्यवस्था भए पनि थोरै मात्र शेयरमूल्य घटेमा ब्रोकरले मार्जिन रकम थप्न नलगाउन सक्छ । तर, शेयरमूल्य धेरै घट्यो भने उसले थप मार्जिन माग्नै पर्ने नियम छ । यस्तो मार्जिनलाई मेन्टेनेन्स मार्जिन अर्थात् सम्भार मार्जिन भनिन्छ । सम्भार मार्जिन ४० प्रतिशतभन्दा बढी हुन नपाउने नियम छ ।

लगानीकर्ताले आवश्यक पर्ने मार्जिन भुक्तान गर्न नसकेमा वा अस्वीकार गरेमा र सम्पर्कमा नआएमा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा अन्तर्र्गत खरीद गरेको शेयरविक्री गर्न सक्नेछन् । मार्जिन सुविधा प्रदान गर्न आवश्यक रकम ब्रोकर कम्पनीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग कर्जा लिएर प्रदान गर्न सक्नेछन् । ब्रोकर कम्पनीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । कुनै एक ग्राहक तथा निजको एकै घरका सदस्यलाई आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने छैन ।