बैंकिङ खबर । एन आई सी एशिया बैंक लि.को २२ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।
यस बैंकमा D-MAT खाता हुने शेयरधनीहरुलाई नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा D-MAT खाता नहुने शेयरधनीहरुले यथाशीघ्र D-MAT खाताको लागि बैंकको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।
बैंकको हाल मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
