Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मर्जरमा लघुवित्त : कुनको मर्जर कुनसँग ?

२०७६ आश्विन ६ गते

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तलाई विभिन्न कुरामा सहुलियत दिने घोषणा गरिएपछि लघुवित्तहरु धमाधम ऐच्छिक मर्जरमा जान थालेका हुन् । हुन त मौद्रिक नीति आउनुअघि नै एक कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपालले लघुवित्तहरुलाई पार्टनर खोजेर मर्जर प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । सोही अनुसार, लघुवित्तहरुले पनि मर्जरको प्रक्रिया धमाधम अघि बढाइरहेका छन् ।

साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले एकीकृत कारोबार सुरु गरिसकेका छन् । साधना लघुवित्तले आर्थिक समृद्धिलाई १००ः८० को अनुपातमा प्राप्ति गरेको हो । एनआरएन लघुवित्त, क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तले गत भदौ २४ गतेदेखि एकीकृत कारोबार थालेका छन् । नयाँ बनेको संस्थाको नाम रामारोशन लघुवित्त वित्तीय संस्था रहेको छ ।

वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तको मर्जर साधारणसभाले पारित गरिसकेको छ । अब राष्ट्र बैंकबाट स्वीकृति लिएर यी लघुवित्तले पनि एकीकृत कारोबार थाल्नेछन् । सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त पनि मर्जरमा जाँदैछन् । त्यस्तै, आरम्भ लघुवित्त र चौतारी लघुवित्त, कालिका लघुवित्त र जनसेवी लघुवित्त, मिर्मिरे लघुवित्त, किसान माइक्रोफाइनान्स र नागबेली लघुवित्त बीच मर्जर सम्झौता भई प्रक्रिया अघि बढिसकेको अवस्था छ । उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तले पनि मर्जर सम्झौता गरी प्रक्रिया अघि बढाएका छन् ।

नयाँ लघुवित्त पनि मर्जरको दौडमा
भर्खरै लाइसेन्स पाएर संचालनमा आएका लघुवित्तहरुले समेत मर्जर सम्झौता गरिरहेको अवस्था छ । नयाँ लाइसेन्स दिन रोके पनि राष्ट्र बैंकले पहिले नै आवेदन परिसकेका लघुवित्तलाई र लघुवित्तीय कारोबार गर्ने गैरसरकारी संस्थाहरुलाई लाइसेन्स दिएको थियो । जसअनुसार, गत वर्ष २५ वटा र यस वर्ष दुई वटा नयाँ लघुवित्त संचालनमा आएका छन् । यीमध्ये पनि कतिपय लघुवित्तहरुले मर्जर प्रक्रिया अघि बढाइरहेको अवस्था छ ।

१८ महिनाअघि संचालनमा आएको रुपन्देहीको मनकामना लघुवित्त र ८ महिना अघि मात्रै गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएको स्मार्ट लघुवित्तले मर्जर सम्झौता गरी प्रक्रिया अघि बढाएका छन् । गत वर्षको असोज ११ गते संचालनमा आएको स्वेडा लघुवित्त पनि मर्जर प्रक्रियामा छ । स्वेडा विजय लघुवित्तसँग मर्जरमा जाँदैछ । ०७४ सालमा संचालनमा आएका सारथी लघुवित्त र सत्वती लघुवित्त पनि मर्जरमा जाँदैछन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तहरुलाई मर्जरबाट विकास बैंक स्तरोन्नति हुन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । साना लघुवित्तहरु आफैँ पनि मर्जरबाट सबल संस्था बन्न चाहिरहेका छन् ।

Ad